धरान /धरान मेयर फुटबल कपको उपाधि धरान मेघा हिमालयन कलेजले उचालेको छ ।

धरान रङ्गशालामा सोमबार सम्पन्न अन्तिम प्रतिस्पर्धामा माउन्ट हर्मन एकेडेमीलाई ३–० गोल अन्तरले पराजित गर्दै मेघा हिमालयनले कप हात पारेको हो । मेघा कलेजका तर्पmबाट अङ्कित थापा, सुगम जिमी र शेखर कुँवरले एक–एक गोल गरेका थिए । 

प्रतियोगितामा बेस्ट स्कोररको उपाधि मेघाका अङ्कित थापाले प्राप्त गरे । उनले प्रतियोगिताभरिमा सात गोल गरेका थिए । यस्तै, मेघाकै सुगम जिमीले बेस्ट प्लेयरको उपाधि हात पारे भने फाइनल खेलका म्यान अफ द म्याच पनि मेघाकै पवन तामाङ भएका छन् । कार्यक्रमका प्रमुख अतिथि एवम् एन्फाका मानार्थ केन्द्रीय उपाध्यक्ष किशोर राईले उनीहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरे ।

विजेता मेघा कलेजले ३० हजार रुपैयाँसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता माउन्ट हर्मनले २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 

धरान उपमहानगरपालिकाको आयोजनामा यही पुस १२ गते सुरु भएको नगरस्तरीय प्रतियोगितामा माध्यमिक तहका विद्यालयहरू सहभागी थिए । प्रतियोगितामा धरानभरिका सामुदायिक तथा संस्थागत गरी ३६ वटा विद्यालय सहभागी थिए ।