मोरङ / विराट  धर्मशास्त्र संग्राहलय एवं पुस्तकालयले सामुदायिक विद्यालयका छात्रालाई पुरस्कृत गरेको छ । 

पुस्तकालयको वार्षिक साधारणसभा तथा समाजसेवी लेखनाथ चापागाईंको ९७ औं जन्मजयन्तीको अवसर पारेर सोमबार आयोजित कार्यक्रममा सामुदायिक विद्यालयमा अध्ययन गर्ने दुईजना छात्रालाई पुरस्कृत गरिएको हो ।

कार्यक्रममा ५ हजार नगद राशिको नन्दकुमारी चापागाईं स्मृति छात्रवृत्ति पोखरिया उच्च माविमा अध्ययनरत सविया सहनी र गोग्राह माविमा अध्ययनरत नेहा उराँवलाई प्रदान गरिएको थियो । उनीहरुलाई विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, आयोजक संस्थाका अध्यक्ष ओमकार चापागाईंलगायतले नगदसहित प्रशंसापत्र प्रदान गरेका थिए । 

सो अवसरमा मेयर कोइरालाले विराट धर्मशास्त्र संग्राहलयको संरक्षण र सम्वद्र्धनमा महानगरपालिका गम्भीर रहेको बताएका छन् ।

कार्यक्रममा वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी, समाजसेवी माधवप्रसाद अत्रि, साहित्यकार दिङ्लाली कान्छो, प्रतिमा निरौला, पुरुषोत्तम न्यौपानेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । पुस्तकालयले हरेक दुई वर्षमा ५० हजार राशिको लेखनाथ चापागाईं स्मृति पुरस्कारसमेत वितरण गर्दै आएको छ ।