धरान / मोफसलको अन्तर्राष्ट्रिय आमन्त्रित फुटबल प्रतियोगिता बुढासुब्बा फुटबल प्रतियोगिताको २३ औँ संस्करण यही फागुन दोस्रो सातादेखि हुने भएको छ । २०७६ सालमा सम्पन्न २२ औँ संस्करणपछि कोभिडका कारण २०७७ र ०७८ सालमा बुढासुब्बा गोल्डकप आयोजना हुन सकेको थिएन । यो वर्षको फागुन १३ गतेदेखि २० गतेसम्म सञ्चालनको तयारी भएको आयोजकले जनाएको छ ।
कोरोना महामारीले भएको आर्थिक मन्दीका कारण रोकिएको प्रतियोगिता सञ्चालनको तयारी भइरहेको धरान फुटबल क्लवका अध्यक्ष किशोर राईले जानकारी दिएका छन् । प्रतियोगिताका लागि धरान उपमहानगरपालिका, प्रदेश सरकारसँग सहकार्य भइरहेको अध्यक्ष राईले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा सदा झैँ ८ वटा ए डिभिजन क्लबहरुले सहभागिता जनाउने छन् । काठमाडौका २ वटा, पोखराको एक टिम, भारतको २ टिम र प्रदेश १ बाट आयोजकसहित ३ वटा क्लबका स्तरीय टिमहरुले सहभागिता जनाउने तय भएको अध्यक्ष राईले जानकारी दिए ।
एन्फाबाट प्रतियोगिताका लागि स्वीकृति लिइसकेको क्लवले जनाएको छ । दुई वर्ष देखि रोकिएको प्रतियोगितालाई सफल बनाउन सबै सरोकारवालाहरुसँग छलफल सुरु गरिएको अध्यक्ष राईले जानकारी दिए । आर्थिक अभावले २२ औं संस्करणको बाकी बक्यौता पनि मिलाउने काम भइरहेको आयोजकले जनाएको छ ।
अध्यक्ष राईले २३ औं संस्करण भव्य समापन गरेर क्लबको नेतृत्व पनि हस्तान्तरण गर्ने तयारी गरेको जानकारी गएका छन् । २२ औँ संस्करण २०७६ फागुनमा भएको थियो । प्रतियोगितामा नेपाल पुलिस क्लबलाई ३–१ ले पराजित गर्दै मनाङ मस्र्याङदी क्लव काठमाडौं विजयी भएको थियो ।