धरान / प्रदेश १ को आदिवासी जाति समुदायका भाषा, संस्कृतिको स्थिति र अवस्थाको समीक्षा गर्न धरानमा प्रादेशिक भाषा, संस्कृति सङ्गोष्ठी गरिएको छ । नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्र दाङ र प्राडा टंकप्रसाद न्यौपाने अध्ययन अनुसन्धान केन्द्र धरानको आयोजनामा गोष्टी भएको हो ।
गोष्टीमा भाषा तथा संस्कृतिका विषयमा ८ जनाले कार्यपत्र प्रस्तुत गरेका थिए । प्रदेश १ का खानेपानी, सिँचाई तथा उर्जामन्त्री तिलकुमार मेन्याङबोले उद्घाटन गरेको गोष्टीमा पहिलो सत्रमा प्रदेश १ को जाति भाषा र ंस्कृतिको विषयमा प्राडा माधवप्रसाद पोखरेल, देवान जाति संस्कृति र भाषाका विषयमा प्राडां टंकप्रसाद न्यौपाने, भाषिक प्रकार्यका दृष्टिले प्रदेश १ का भाषाहरु विषयमा डा. दीपक न्यौपाने र नेपाली चलचित्रमा प्रस्तुत गरिने महिला पात्रहरूको भूमिका विषयमा डा. अस्मिता विष्टले कार्यपत्र प्रस्तुत गरेका थिए ।
दोस्रो सत्रमा पूर्व प्रदेश प्रमुख प्राडा. गोविन्द तुम्वाहाङले नेपाली समाज, संस्कृति र संस्कृति बाङमय, डा. सोमबहादुर धिमालले धिमाल जातिको कला संस्कृति, डा. कैलास राईले मेवाहाङ राइको जाति भाषाबारे र डा. मोहन तुम्वाहाङले लिम्बु भाषा र सास्कृतिको एक झल्को विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यपत्र प्रस्तुतिको प्रथम सत्रका सभापति पूर्व प्रदेश प्रमुख प्राडा. गोविन्दबहादुर तुम्बाहाङले प्रदेश १ किरातै भएको अर्थमा नामकरणतर्फ सङ्केत गर्दै नेपालको इतिहासमा पल्लो किरात, माझ किरात र वल्लो किरात भनिएको अहिले पनि पढ्नु पर्ने बताए । यसअघि प्राडा.माधव पोखरेलले किरात जातिको संस्कृतिसँग कोसी नदीको प्राग ऐतिहासिक सम्बन्ध रहेकोले प्रदेशको नाम कोसी राख्दा किरातको सम्बोधन हुने सङ्केत गरेका थिए । सङ्गोष्ठीमा कार्यपत्र प्रस्तोता तथा छलफलमा सहभागीहरूले संस्कृत, खस जातीको चर्चा, किरात, लिम्बू, राई, कोच, धिमाल, याक्खा, देवान, थारुलगायतबारेमा चर्चा गरिएको थियोे । छलफल भएका ८ वटा कार्यपत्रमा अधिकांश आदिवासी जातिका भाषा, संस्कृतिमा केन्द्रित रहेको थियो ।
डा.अस्मिता विष्टले नेपाली चलचित्रमा प्रस्तुत गरिने महिला पात्रहरूको भूमिका ‘तथाकथित महिला’ भएको बताउँदै त्यसले लैङ्गिकता, महिला अधिकारका कुरालाई धज्जी उडाउँदै आएको प्रष्टाएकी थिइन् । लिम्बु संस्कृतिमा आधारित ‘नुमाफुङ’ देखी ‘माइती घर’ सम्मका महिला पात्रहरूको चरित्र, भूमिकाको उदाहरण उनको कार्यपत्रमा उल्लेख थियो ।
प्राडा. टङ्कप्रसाद न्यौपानेले भाषिक एवं सांस्कृतिक रूपमा भिन्नताका कारण देवान छुट्टै जाति भएको बताएका थिए । उनको कार्यपत्रमा देवानहरू याक्खा नभएको देवान जाति र याक्खा जातिको सांस्कृतिक भिन्नताहरू समेत उल्लेख गरेका थिए । उनले धेरै जातिहरू पदवीको नामबाट जातिमा परिणत भएको उदाहरणहरू प्रस्तुत गरे ।
डा.मोहन तुम्बाहाङले लिम्बु भाषा र सास्कृतिको एक झल्को विषयमा कार्यपत्र प्रस्तुत गदैं भाषा भएपछि संस्कृति हुने र संस्कृति भनेकै भाषाको माध्यमबाट प्रकट हुने सामाजिक व्यवस्था भएको बताए । लिम्बु जातिको भाषा र संस्कृति मुन्धुममा आधारित भएकोले लिम्बु समाजको विकास र स्थायित्वको श्रोत मुन्धुम भएको उनले उल्लेख गरेका थिए । लिम्बू भाषाको व्याकरणको व्याख्या गर्दै उनले लिम्बू समृद्ध भाषा भएको बताऐ ।
डा. सोमबहादुर धिमालले धिमाल जातिको संस्कृतिमा ४ वटा शक्तिको महत्वपूर्ण स्थान रहेको कार्यपत्रमा उल्लेख गरेका थिए । प्रकृतिलाई शक्तिको रूपमा धिमालहरूले पूजा गर्ने गर्छन । पितृ शक्ति उनीहरूका लागि मुख्य श्रोत हुन । धामी झाँक्रीमा शक्ति हुन्छ भन्ने धिमालहरूको गहिरो आस्था छ । राज शक्ति धिमाल जातिले शक्तिको प्रतिकका रूपमा मान्दछन्, उनको कार्यपत्रमा भनिएको छ ।
दीपक न्यौपानेको कार्यपत्रमा प्रदेश १ का मातृभाषाहरूको विश्लेषणात्मक अध्ययन गदैं प्रदेशमा ६ दर्जन जति भाषा बोलिने गरेको बताएका थिए । लिम्बु भाषा पठनपाठनमा आएको समृद्ध भाषा भएको उल्लेख गर्दै प्रदेशको सरकारी कामकाजको भाषाको लागि लिम्बु र मैथिली भाषा सिफारिस भए पनि अझै धेरै काम गर्न बाँकी रहेको उनले कार्यपत्रमा उल्लेख गरेका थिए । डा.कैलाश मेवाहाङ राईले आफ्नो कार्यपत्रमा मेवाहाङ किरातहरूको पुर्खा भएको उल्लेख गरेका थिए ।
किरात देवान समाज केन्द्रीय समितिको सहकार्यमा आयोजित सङ्गोष्ठीमा संस्कृति विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा. भीमप्रसाद खतिवडा, विश्वविद्यालयका सांस्कृतिक केन्द्रका निर्देशक जर्मन चौधरीलगायतले भाषा र संस्कृतिका विषयमा बोलेको प्राडा. टंकप्रसाद न्यौपान अध्ययन अनुसन्धान केन्द्रका अध्यक्ष डा. रमेश घिमिरेले जानकारी दिए । कार्यक्रममा इतिहास, भाषा संस्कृतिका विषयमा योगदान दिने पाँच जना अगुवाहरुलाई सम्मान समेत गरिएको थियो ।