धरान / 

धरानका मेयर हर्क साम्पाङलाई किरात राई जातिको धार्मिक, सांस्कृतिक आस्थाको पवित्र प्रतीक वाबु र धजुरीले सम्मान गरिएको छ । 

यलम्बर सम्वत ५०८३ को अवसरमा  किरात राई पत्रकार संघ सुनसरीले मेयर साम्पाङलाई समुदायको आस्थाका प्रतीक चिह्नहरु प्रदान गरेको हो । संघका अध्यक्ष वसन्त बान्तवाले मेयर साम्पाङलाई प्रतीक चिह्नहरु छातीमा सजाइदिए । 

किरात राई जातिले धार्मिक, सांस्कृतिक कर्म चलाउने पवित्र प्रतीकहरु बाबू,धजुरी, पेचुरी, सेक्मुरी, मुर्चुङ्गालगायतका प्रतीक चिह्नहरु छातीमा  सजाउने गरेका छन् । 

रातो, पहेलो र हरियो रङ्गको फूलको प्रतीक ’बुङ’ले जातिको पवित्रता, संस्कार र प्रकृति प्रेमलाई जनाउने गरेको छ । वाबु ( चिन्डो) ले किरात राई जातिको जन्मदेखि मृत्युुपर्यन्तको कर्म र पवित्रतालाई बुझाउँदछ । 

सम्मान ग्रहणपछि मेयर साम्पाङले औपचारिक कार्यक्रममा वाबु र धजुरी लगाउने प्रतिबद्धता जनाए । पवित्र प्रतीक चिह्नले सतमार्गमा हिंड्ने र नागरिकप्रति उत्तरदायी भाव जागृत गराउन अभिप्रेरित गर्ने बताए । 

किरात राई पत्रकार संघले मेयर साम्पाङसहित, उपमेयर अइन्द्रविक्रम बेघा, प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजाल, धरान १८ का वडाध्यक्ष प्रवीण राई, वडा ४ का वडाध्यक्ष धनबहादुर राई लगायतलाई प्रदान गरेका थियो । 

संघले येलेदोङ ५०८३ को अवसरमा जिल्लाका किरात राई जातिका निर्वाचित जनप्रतिनिधिलाई आफ्ना धार्मिक, सांस्कृतिक पवित्रताका प्रतीकहरुले सम्मान गर्ने कार्यक्रम राखेको छ । 

किरातहरुले मान्दै आएको नेपालको प्राचीन तथा मौलिक सम्वत येले  दोङ (यलम्बर सम्वत) लाई राज्यले राष्ट्रिय सम्वतका रुपमा घोषणा गरी प्रचलनमा ल्याउनु पर्ने माग गर्दै आएका छन् । वर्तमान सरकारले येलेदोङलाई मौलिक सम्वत घोषणा गर्नु पर्ने किरात राई जातिको मातृ संस्था किरात राई यायोक्खाले माग गर्दै आएको छ ।