धरान /   सुनसरीको धरान उपमहानगर पालिका २० लाई वेसारजोनको रुपमा विकास गरेर लाने धरान उपमहानगरपालिकाको योजना छ । सात वर्ष अगाडि त्यो क्षेत्रलाई बेसार जोन घोषणा गरिएको थियो ।

सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा स्थानीय सरकार तथा व्यवसायीहरुले विष्णुपादुकालाई बेसार जोनको रुपमा विकास गर्ने योजना अगाडि सारेका थिए तर सोही अनुसार काम भने अगाडि बढ्न सकेन ।

साविकको विष्णुपादुका गाविस र अहिले धरान उपमहानगरपालिका वडा नं. २० विष्णुपादुका अदुवा र बेसारको बढी खेती हुने स्थानको रुपमा लिइएको छ । विष्णुपादुकामा ३ सय ५० भन्दा बढी घरधुरी रहेका छन् । बेसारमात्र एक घरले वार्षिक रुपमा ८ देखि १० क्विन्टल  उत्पादन गर्छन्, ६ किलो काँचो बेसारबाट एक किलोमात्र सुकेको बेसार निस्किन्छ,

यो ठाउँमा बेसार, अदुवा र अम्लिसो उत्पादन हुन्छ, यो यहाँका बासिन्दाहरुको नगदेबालीको रुपमा लिने गरिएको छ तर कृषकले उत्पादन गरेका यी कृषि सामग्रीको बजारको अभावसँगै विचौलियाले मूल्य निर्धारण गर्दा मेहनत अनुसारको मूल्य नपाएको कृषकहरुको गुनासो छ । स्थानीय कृषक भीम कुलुङले विष्णुपादुकामा उत्पादन भएको बेसार गुणस्तरीय भएपनि बजार पाउन नसकेको गुनासो पोखे ।

उनले भने–‘यहाँका कृषकले धेरै बेसार उत्पादन गर्छन् तर बजारको पहुँच छैन, स्थानीय सरकारले यसलाई प्याकेजिङ गरेर बजारसम्म पुग्ने वातावरण बनाइदिए यहाँका कृषकले उत्पादन गरेको बेसारले मूल्य पाउने थियो ।’ उनले अहिले विचौलियालाई सबैभन्दा फाइदा पुगेको बताए । विचौलियाले आफै मूल्य तोकेर कृषकले उत्पादन गरेको बेसार लाने गरेको उनको भनाई थियो । 

कृषकले मेहनत गरे अनुसारको राम्रो आम्दानी हुनुपर्ने हो । बेसार प्रतिकेजी १ सय ५० देखि २ सय रुपैया केजीसम्म बिक्री हुने गरेको छ । बजारमूल्यमा बिक्री गर्न पाएको भए यो भन्दा धेरै मूल्यामा उनीहरु बिक्री गर्न पाउने कृषकहरु बताउँछन् । मेहनत अनुसारको मूल्य नपाए पनि एक घर बराबर वार्षिक ५० देखि ६० हजार रुपैयाँ बेसार उत्पादन गरेर कमाउने गरेको स्थानीय कृषक मानबहादुर राई बताउँछन् ।

उनले भने–‘यसबाट हामीले मनग्गे आम्दानी गर्न सक्थ्यौँ, सरकारले प्राविधिक सहयोग, प्याकेजिङ गरेर बजारसम्म पुर्‍याउने व्यवस्था मिलाइदिए अहिलेभन्दा दोब्बर तेब्बर आम्दानी गर्न सक्थ्यौँ, यहाँका कृषकहरु बेसारबाटै आत्मनिर्भर बन्न सक्थे ।’

बेसार जोन घोषण गरे पनि सोही अनुसारको काम भने गर्न नसकेको स्थानीय सरकारको बुझाई छ । धरान उपमहानगरपालिका वडा नं. २० विष्णुपादुकाका वडाध्यक्ष पदमबहादुर लिम्बुले बेसार जोन घोषणा गरे पनि सोचेजस्तो काम गर्न नसकेको बताए । उनले यहाँ उत्पादन भएको बेसारले बजारको पहुँच नपुगेको बताउँदै सुनसरी उद्योग वाणिज्य संघसँग मिलेर राम्रो गुणस्तरीय बेसार नेपाल लगायत बाहिर निर्यात गर्ने योजना अगाडि सारेके बताउँदै आगामी दिनमा यो कार्यलाई सार्थकता दिने प्रयास आफ्नो हुने वडाध्यक्ष लिम्बु बताउँछन् ।

उनले भने–‘हामीले सुनसरी उद्योग वाणिज्यसंघ छलफल गरेर यहाँ उत्पादन भएको बेसारलाई प्याकेजिङ गर्दै बजारसम्म पुर्‍याउने कुरालाई अगाडि लिएर जाने सोचमा छौँ, चाँडै नै यस विषयमा हामी छलफल छौँ ।’धरान उपमहानगरपालिकाले पनि धरान २० विष्णुपादुका र धरान ४,५ र ६ पाँचकन्यालाई कृषि पकेट क्षेत्रको विकास गर्ने योजना अगाडि सारेका छ ।

तर यी क्षेत्रमा उत्पादन भएका कृषि सामाग्रीको बजार नपाउँदा विचौलियाले उनीहरुले उत्पादन गरेको कृषि सामाग्रीको मूल्य तोकिदिने गरेका छन् । स्थानीय सरकारले उनीहरुले उत्पादन गरेको सामाग्रीका प्याकेजिङ गर्दै बजारको सहज पहुँच मात्र मिलाइदिने हो भने यहाँको उत्पादनले बजार पिट्ने थियो, तर स्थानीय सरकार नारामा मात्र सीमित छ, काममा अग्रसर देखिएको छैन ।