धरान /  तीन महिनाभित्रमा निर्माण सम्पन्न गर्ने योजना लिएर धरान १५ सेउती बगरमा रिजर्ब ट्यांक र फिल्टर निर्माणको शनिबार शिलान्यास गरिएको छ । 

४६ लाख लागत अनुमान गरिएको सो ट्याङ्की निर्माणका लागि  हर्क साम्पाङ सपोर्ट कमिटी युकेले ३० लाख २३ हजार ६ सय २४ रुपैया सहयोग गर्ने भएको छ । ट्याङ्कीको शिलान्यास धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई र हर्क साम्पाङ सपोर्ट कमिटी युकेका सह संयोजक प्रेम लिम्बुले संयुक्त रुपमा गरेका छन् ।

seuti-news

 भालुखोलाको पानी सञ्चित गर्ने उद्देश्यले गोर्खा वेल्फेयर ट्रष्टको प्राविधिक सहयोगमा ७५ हजार लिटरको ट्याङ्की रहने मेयर साम्पाङले बताए । अपुग रकम श्रमदान तथा निर्माण सामग्रीको सहयोग हुने अपेक्षा गरिएको वेल्फेयर धरानका प्रमुख पुर्ण लिम्बुले जानकारी दिए ।

मेयर साम्पाङले भने–‘सुख्खा मौसममा धरानमा पानीको धेरै अभाव हुन्छ यसलाई मध्यनजर गरी नगरपालकाले रिजर्ब ट्याङ्की निर्माण गर्न लागेको हो ।’ उनले यो सँगै पकुवा खोला, आपगाछी खर्दुमा पनि काम भइरहेको जानकारी दिए ।