सुनसरी /  सुनसरीको व्यापारिक प्रवर्धन गर्ने उद्देश्यका साथ फागुन ११ बाट सुरु हुन लागेको धरान एक्स्पो २०७९ को तयारी अन्तिम चरणमा पुगेको छ । सुनसरी उद्योग वाणिज्य संघको आयोजनमा हुन लागेको एक्स्पोलाई धरान उपमहानगरपालिका र प्रदेश १ सरकारले सहयोग गरेको छ । 

दश दिनसम्म सञ्चालन हुने एक्स्पो धरान रंगशाला छेउमा रहेको खाली मैदानमा डोम प्रविधिको सहयोगमा निर्माण गरिएको अस्थायी संरचनामा सञ्चालन हुनेछ । प्रदेश १ का स्थानीयलाई बदलिदो प्रविधि, उत्पादन र बजारीकरणको अनुभव गराउन, सुनसरी क्षेत्रका रैथाने उत्पादनलाई व्यावसायीकरण, प्रवर्धन गर्न र विभिन्न क्षेत्रका व्यवसायी, उद्यमी, व्यापारीहरुका माझ अनुभव आदानप्रदान गराउनु एक्स्पोको मुख्य उद्देश्य हो । 

एक्स्पोको उद्देश्य, तयारी, स्टल, सुरक्षा, व्यवस्थापन लगायत विभिन्न पाटोबारे धरान एक्स्पो २०७९ मूल आयोजक समितिका संयोजक एवम् आयोजक सुनसरी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष गोपाल श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंशः

332529317_453469116912549_6147406054332498505_n

एक्स्पोको तयारी कस्तो भइरहेको छ ?

एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ । फागुन १० गते बिहानसम्ममा हाम्रो सम्पूर्ण तयारी हुनेछ । काम एकदम द्रुत तरिकाले अगाडि बढाएका छौँ ।

एक्स्पोको मुख्य उद्देश्य के हो ?

सुनसरी क्षेत्रको व्यावसायिक प्रवर्धन गर्ने एक्स्पोको एकमात्र उद्देश्य हो । व्यावसायिक प्रवर्धनका लागि आवश्यक पर्ने सबै पाटोमा एक्स्पोले सहयोग गर्ने गरी काम भइरहेको छ । सुनसरीको बजारलाई चालयमान बनाउँदै समग्र देशको आर्थिक अवस्थालाई सबल बनाउन थोरै भएपनि योगदान दिने हाम्रो लक्ष्य हो । सँगै सुनसरी क्षेत्रको आर्थिक गतिविधि, उद्योग, व्यवसाय विकास र विस्तार र नयाँ सम्भावनाका खोज, प्रवर्धन र प्रचार गर्ने एक्स्पोको मूल उद्देश्य हो । यी बाहेक सुनसरी, विशेषतः धरानको व्यापारिक, व्यावसायिक साख पुनर्जिवित गराउने लक्ष्य लिएका छौँ ।  

331636139_663846409078232_961805264997463550_n

एक्स्पो आयोजनाको कुल अनुमानित खर्च कति हो ? हालसम्म व्यवस्थापनमा कति खर्च भइसकेको छ ?

धरानमा पहिलो पटक डोम प्रविधिको प्रयोग गर्दै अन्तर्राष्ट्रिय स्तरको एक्स्पो सञ्चालनको तयारी गरेका छौँ । यसको कुल अनुमानित खर्च ९९ लाख ५० हजार हो । त्यहीँ खर्चभित्र रहेर हामीले काम गरिरहेका छौँ । 

एक्स्पोमा कति स्टल हुनेछन् ? हालसम्म कति बुक भइसके ?

१० दिनसम्म सञ्चालन हुने एक्स्पोमा एक सय ३० बढी स्टल हुने भएका छन् । तीमध्ये ९० प्रतिशत बुकिङ भइसकेका छन् । 

डोम प्रविधिको प्रयोगसँगै स्टलको मूल्य त महङ्गो होला नि ? 

प्रति स्टल हाम्रो तयारी र व्यवस्थापन खर्च २६ हजार पाँच सय रुपैयाँ हो । तर सुनसरीको व्यावसायिक प्रवर्धन गर्ने उद्देश्यसहित सञ्चालन गरिने एक्स्पोमा स्टल मूल्य खासै महङ्गो छैन । कृषिका स्टल निःशुल्क उपलब्ध गराएका छौँ । रैथाने, महिला, विद्यार्थी र अपाङ्ग व्यवसायी, उद्यमीका उत्पादन प्रदर्शनीका लागि हामीले व्यवसायको प्रकार हेरेर स्टल मूल्य निर्धारण गरेका छौँ । अन्य व्यवसायको हकमा व्यापारको आकार हेरेर स्टलको मूल्य निर्धारण गरिएको छ । व्यवसायीलाई मर्का नपर्ने र हाम्रो उद्देश्यलाई सहयोग पुग्ने हिसाबले स्टलको मूल्य निर्धारण गरिएको छ । अधिकांशले स्टल बुकिङ बापतको रकम दिइसक्नु भयो बाँकी एक्स्पोका दौरान दिने सम्झौता भएका छन् ।

332515917_1308707393398043_5256318677363313391_n

स्टल मूल्य महङ्गो भयो भन्ने गुनासो छ नि ?

धरानमा हुने गरेका अन्य एक्स्पो भन्दा स्टल मूल्य केही महङ्गो भएको सत्य हो तर महङ्गो मूल्यमा स्टल दिएर आयोजकले नाफा निकाल्ने भने होइन । यो विषय सबैले बुझ्न आवश्यक छ । देशको आर्थिक अवस्थाका कारण र अन्य स्थानमा पनि प्रदर्शनी आयोजना भइरहेकाले उल्लिखित मात्रामा प्रायोजक हामीले पाएको अवस्था छैन । त्योसँगै हामीले धरान एक्स्पोलाई अन्तर्राष्ट्रियकरण गर्न पहिलो पटक डोम प्रविधि भित्र्याएका छौँ ।

यसले पनि एक्स्पोको खर्च केही बढाएको हो । त्यसैले केही महङ्गो देखिएको हो तर व्यपारी, व्यवसायी, उद्यमीले धान्नै नसक्ने गरी मूल्य राखेका छैनौँ । कृषि, रैथाने लगायतका २० स्टललाई निःशुल्क  एक्स्पोमा स्थान दिएका छौँ । अन्यलाई पनि व्यापारको प्रकार र आकार हेरेर मुल्य निर्धारण गरिएको छ । एक्स्पोको खर्च उठाउन स्टलका उचित मूल्य लिएका छौँ । 

सुनसरीमा डोम प्रविधि प्रयोग गरिएको पहिलो एक्स्पो भनिएको छ ? खासमा यस प्रविधिको आवश्यकता किन पर्‍यो ?

डोम प्रविधि सुनसरी जिल्लामा पहिलो प्रयोग हो । पहिलो प्रयोगका अलवा यो आकर्षण पनि हो । त्यसबाहेक सुरक्षाको दृष्टिकोणले पनि यो महत्वपूर्ण छ । यसमा स्टलमा राखिएका सामग्रीको सुरक्षा हुन्छ । हावाहुरी, पानी र अन्य सुरक्षाका खतराबाट यो प्रविधि सुरक्षित मानिएकाले हामीले यसलाई प्रयोगमा ल्याएका हौँ । 

331069611_1155372521678134_4392480921011911373_n

 सुरक्षाको विषय उठाइहाल्नु भयो । एक्स्पोमा व्यावसायिक स्टल, व्यवसायी–उद्यमी र अवलोकनकर्ता किन सुरक्षित हुन्छन् ? के छ सुरक्षा व्यवस्था ?

एक्स्पो अवधिभर सुरक्षा व्यवस्थापन गुणस्तरीय राख्ने गरी काम भइरहेको छ । एक्स्पोको सुरक्षाका लागि धरान एक्स्पोका छुट्टै सुरक्षागार्ड तैनाथ हुन्छन् । सँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वयम्सेवकले पनि सुरक्षा व्यवस्थापनमा सहयोग गर्नुहुनेछ । प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायले प्रतिनिधिले एक्स्पो स्थल अवलोकन गरिसक्नु भएको छ । कुनै पनि अप्रिय घटना हुन नदिने गरी सुरक्षा व्यवस्था मजबुत हुनेछ । 

पछिल्ला समय यस्ता एक्स्पो र प्रदर्शनीमा दुघर्टनाको सङ्ख्या बढ्दै गएको छ । भीड नियन्त्रण गर्ने पाटोमा तपाईँहरुले कसरी तयारी गरिरहनु भएको छ ?

धनकुटाको घटनाबाट नेपालका सबैले पाठ सिक्नुपर्छ । भिड नियन्त्रणमा ध्यान दिन नसके अप्रिय घटना घट्ने सक्नेतर्फ हामी सचेत छौँ र त्यसको तयारी गरिसकेका छौँ । अवलोकनकर्ताको भिड नियन्त्रण गर्नका लागि हामीले एक्स्पो स्थलको पश्चिम, पूर्व र दक्षिणतर्फ तीन वटा प्रवेशद्वार निर्माण गरेका छौँ । त्यसबाहेक, एक्स्पोका सुरक्षागार्ड, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्वयम्सेवकले त्यसतर्फ विशेष ध्यान दिनुहुनेछ ।

331015686_562979259119919_3003326263695236011_n

332329990_1349995215838601_4528318710872918547_n

332264940_924468468736266_5670277123033497379_n