इलाम / नेपालकै पहिलो नमुना कारागारको रुपमा भौतिक संरचना निर्माण गरिएको इलाम कारागारलाई सुधार गृहको रुपमा हेर्ने गरिन्थ्यो । कारागारहरूमा क्षमता भन्दा बढी कैदी राख्ने देखि  खानेपानी, शौचालय, स्वास्थ्य लगायतका आधारभूत आवश्यकतामा देशभरका जेलहरूको अवस्था नाजुक रहेको गुनासो आइरहँदा इलाम कारागारका कैदीहरू भने इलाम कारागारलाई सुधार गृहको रुपमा रहेको बताउने गर्दथे । 

थप अपराधमा संलग्न नहुन र गरेको अपराधबाट सुधार्नका लागि कुनै पनि मुद्दामा दोषी ठहर भएका अथवा विचाराधीन मुद्दामा पुर्पक्षमा थुनामा कैदीबिन्दीलाई कारागारमा राखिन्छ । कारागार भित्र कानुनले वर्जित गरेका कुनै पनि गतिविधि, मदिरा सेवन, जुवा तास तथा मोबाइल फोन समेत प्रयोग गर्न पाइँदैन ।

तर इलाम कारागारमा भने कानुनले वर्जित गरेका मदिरा सेवन, जुवा तास तथा मोबाइल फोन समेतको प्रयोग हुने गरेको पाइएको छ । इलाम कारागार भित्र कैदीबिन्दीले मदिराको प्रयोग र तासको अखडा बनाइरहेका छन । कारागार भित्र निषेधित वस्तु प्रवेश गर्नुमा कार्यालयका कर्मचारी र सुरक्षाकर्मीको सेटिङ बिना प्रवेशै गर्न सक्दैन ।

कारागारमा रहेका कैदीबिन्दी बाहरि निस्कनै पाउँदैनन्, निस्कँदा पनि प्रहरीले हतकडी लगाएका कामको प्रयोजन कालागि लाने गर्दछ । बाहीरका मान्छेले खानेकुरा कैदीलाई लैजाँदा लगेका सामान सबै हेरेर लैजाने व्यक्तिले चाखेपछि मात्रै भित्र प्रवेश गराउन मिल्छ । तर इलाम कारागारमा सेटिङबाटै मदिरा भित्रने गरेको पाइएको हो । कारागार भित्र मदिरा र तास भित्रिएसँगै त्यहाँका कैदी मदिरा सेवन, तास र चुरोट प्रयोग गरिरहेका भिडियो बाहिरिएको छ । जिल्ला कारागार इलामका जेलर सुमित मगर उक्त भिडियो कारागार भित्रकै रहेको स्विकारेका छन ।

उनले यो दृश्य इलाम कारागारकै रहेको र त्यहाँ देखिएका केहि कैदिबन्दी अहिले पनि यही रहेको र केहि छुटेर र सरुवा भएर गइसकेको बताए । उनले त्यो भिडियो देख्दा आफू पनि अचम्मित परेको भन्दै कहिलेको भिडियो भन्ने प्रस्ट नभएको र आफू पनि भरखरै यस कार्यालयमा आएको बताउँदै अहिले तत्काल कर्मचारी र सुरक्षाका साथीहरूलाई भित्र निरीक्षणका लागि पठाएको बताए ।         

उनले कारागार भित्र अनुशासनहीन काम गर्न नपाइने र कानुनले बन्देज गरेका कुराहरू प्रयोग गर्न नपाइने र बिक्री वितरण गर्न नपाइने बताए । उनले  भिडियोमा देखिएका केहि व्यक्ति अहिले कारागारमै रहेको र केही यहाँबाट सरुवा भइसकेको भन्दै यसको अनुसन्धान गर्ने बताएका छन । हप्ता हप्तामा अनुगमन समेत गर्ने गरेको  र त्यसको प्रतिवेदन समेत विभागमा पठाउने गरेको भन्दै जेलर मगरले कारागार भित्र भएको यस्तो क्रियाकलाप गलत भएको भन्दै यसको निष्पक्ष छानबिन गरेर संम्लग्नलाई कार्वाहीगर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले कारागार भित्र भएको त्यो गलत नै हो भन्दै संलग्न बिना त्यस्ता वस्तु प्रवेश नगर्ने भएकाले कस कसको संलग्न रहेको भन्ने अनुसन्धान गर्ने बताए । जिल्ला प्रशासन कार्यालय इलामले उक्त विषयको छानबिन गरि तीन दिन भित्र सुझाव सहितको प्रतिवेदन पेश गर्न  कार्यदल समेत गठन गरीसकेको छ । जिल्ला प्रशासन कार्यलयका प्रशासकिय अधिकृत हरि कुमार थापाको संयोजकत्वमा प्रहरी निरिक्षक बिपन बिस्वकर्मा र नायव सुब्बा  नित्यानन्द घिमिरे सदस्य रहेका छन ।

इलाम कारागारको क्षमता १ सय २५ जना क्षमताको भए पनि हाल दुई सय ८० जना रहेका छन । इलाम कारागार भित्र फुटसल खेल्नेका लागि खेल मैदाको व्यवस्था छ । कारागारमा पुस्तकालय, जिम, भलिबल, फुटसल, चेस, क्यारेम बोर्ड, ब्याडमिन्टन, स्किपीङ लगायतका खेलहरूका लागि सामाग्री र मैदानको व्यवस्था रहेको छ ।