धरान / किसानले पाइरहेको मूल्यमा फागुन २० गतेबाट ९ रुपैयाँ १० पैसा बढाउने मन्त्रिपरिषद्को निर्णय गरेपछि दूध संकलक डिपोहरुले १४ रुपैयाँदेखि १९ रुपैयाँसम्म वृद्धि गर्ने निर्णय गरेका छन् । 

व्यावसायीहरुले दूध संकलन डिपोहरुबाट गाईको दूध प्रतिलिटर ७२ रुपैयाँ र भैसीको दूध ७७ रुपैयाँले खरिद गर्दै आइहेकामा सरकारले दूधको मूल्य वृद्धि गरेपछि गाई र भैंसीको दूध मिसाएर ९१ रुपैयाँ प्रतिलिटरको रेट पठाएका छन् । हाल बजारमा बिक्री गर्दै आएको मूल्यभन्दा खरिद मूल्य बढेर आएपछि बजारमा दूध कसरी बिक्री गर्ने भन्नेमा व्यावसायीले निर्णय गर्न सकेका छैनन् । 

डेरी संचालकहरुले हाल ८० देखि ९० रुपैयाँ प्रतिलिटर बिक्री गरिरहेको दूध संकलक डिपो र दूग्ध सहकारीले नै ९१ रुपैयाँको रेटलिस्ट पठाएपछि व्यावसायी डिपोको विकल्प खोज्न बाध्य भएको धरान दूध व्यवसायी संघका अध्यक्ष तोयानाथ दाहालले बताए । 

‘हामीले हाल बराहक्षेत्रस्थित चतरा बहुउद्देश्यीय सहकारी संस्थाबाट दूध खरिद गरिरहेका छौं,’ अध्यक्ष दाहालले भने, ‘सहकारीले किसानबाट ६५ रुपैयाँमा खरिद गरी ९१ रुपैयाँ रेट तोकेको छ, किसानबाट खरिद गरी धरानमै डुलाएर बिक्री गर्ने व्यावसायीको भन्दा बढी रेट भयो, अब हामी विकल्प खोज्छौं ।’

व्यवासायीहरुसँगको छलफलपछि सिधै किसानकहाँ जाने निर्णय गर्ने बताए । किसानसँग सिधा खरिद गर्दा दूधको मूल्यको प्रत्यक्ष भार उपभोक्तालाई नपर्ने अध्यक्ष दाहालले बताए । 

‘अब व्यावसायी संगठित हुने बेला आएको छ, किसान– सहकारी– थोक व्यापारी हुँदै खुद्रा व्यापारीकहाँ आउँदा उपभोक्ताले दूध र दूधजन्य पदार्थमा चर्को मूल्य बेहोर्नुपर्ने अवस्था आउन सक्छ,’ व्यावसायी दाहालले भने,‘हामीले उपभोक्तालाई किसानबाट ल्याएर सिधै दूध बिक्री गर्ने तयारी गर्नुपर्ने अवस्था आएको छ ।’ 

चतरा बहुउद्देश्यीय सहकारी संस्थाले डेरी संचालकहरुलाई पत्राचार गरेको पत्रअनुसार गाई, भैंसीको दूधमा थोक मूल्य ९१ रुपैयाँ र उपभोक्ता मूल्य १ सय रुपैयाँ उल्लेख गरिएको छ । 

पत्रअनुसार नेपाल सरकारले कृषकको दूध तथा पदार्थको मूल्य वृद्धि गरेको र डेरी उद्योग संघ प्रदेश नंं १ तथा डेरी एशोसियसन प्रदेश नं। १ को मिति ०७९ फागुन २० गेको निर्णयअनुसार चतरा सहकारीले उत्पादन तथा संकलन गरी बिक्री गर्ने दूधमा फागुन २६ गतेबाट लागू हुने गरी मूल्यवृद्धि गरेको उल्लेख छ 

गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले किसानले पाइरहेको मूल्यमा प्रतिलिटर ९ रुपैयाँ १० पैसा बढाउने निर्णय गरेको हो । दूधको बजार मूल्यको तुलनामा किसानले पाउने मूल्य धेरै कम रहेकाले कच्चा दूधको मूल्य बढाउने निर्णय गरेको थियो । 

यस अघि किसानले भने कच्चा दूधको मूल्य प्रतिलिटर ५६ रुपैयाँ ४० पैसा पाउँदै आएका थिए । अब प्रतिलिटर ६५ रुपैयाँ ५० पैसा पाउनेछन् । 

किसानलाई आर्थिक राहत हुने गरी कच्चा दूधको मूल्य बढाइएको हो । किसानले ४ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनएफको आधारमा उक्त मूल्य पाउनेछन् ।

मन्त्रिपरिषद्को निर्णयसँगै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मूल्य बढाउन दुग्ध विकास संस्थान ९डीडीसी० लाई परिपत्र गर्छ । त्यसपछि किसानले पाउने मूल्य कार्यान्वयन हुन्छ । 

डीडीसीले देशभरका १२ सय दुग्ध उत्पादक सहकारीमार्फत दूध खरिद गर्दै आएको छ । दूध खरिद गरेबापत सहकारीलाई ‘टीएस’ खर्च दिइन्छ । डीडीसीका अनुसार किसानको मूल्यबाहेक सहकारीलाई प्रतिलिटर ४ रुपैयाँ दिइन्छ । सरकारले किसानले पाउने मूल्य बढेसँगै सहकारीले पाउने मूल्य पनि बढ्ने जनाएको छ । त्यसको प्रत्यक्ष असर भने दूधको खुद्रा मूल्य र दूधबाट उत्पादित वस्तुको मूल्यमा पर्नेर्छ  ।

बढेको मूल्य सिधै किसानले पाउने दाबी सरकारले गरे पनि मूल्य वृद्धिको प्रत्यक्ष भार सिधै उपभोक्तामा पर्नेछ । लागत बढेकै कारण सरकारले २०७८ माघ २८ मा कच्चा दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा बढाएको थियो । कच्चा दूधको मूल्य बढाएलगत्तै डीडीसीले फ्याटको आधारमा स्टान्डर्ड दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ, टी–मिल्कमा १० रुपैयाँ, काउ–मिल्कमा १२ र फुलक्रिम मिल्कमा १४ रुपैयाँसम्म बढाएको थियो । निजी डेरीले पनि सोहीअनुसार मूल्य बढाएका थिए ।

दूधको मूल्य बढेको एक वर्ष पुगेलगत्तै सरकारले पुनः मूल्यवृद्धि गरेको हो । दूधको मूल्य बढेपछि दुग्धजन्य वस्तु दही, पनिर, घिउलगायतको पनि मूल्य बढ्ने निश्चित भएको छ । 

साभार :  श्रव्यदृश्य