धरान / ड्रागन फल स्वाथ्यको लागि लाभदायी मानिन्छ । यो सिउडी प्रजातिमा पर्दछ । विदेशबाट आउने गरेको ड्रागन पछिल्लो समय नेपालमै उत्पादन गर्न थालिएको छ । सुरुमा यसको खेती दक्षिण अमेरिकाको मेक्सिकोमा भएको मानिन्छ । अहिले यो फल दक्षिण एसियाका देशहरु भियतनाम, फिलिपिन्स, थाइल्याण्ड  लगायतका देशहरुबाट नेपाल भित्रिने गरेको छ ।

तर पछिल्लो समय नेपालमै कृषकहरुले ड्रागनको खेति गर्न थालेपछि नेपालमा उत्पादन भएको यो फलको माग अत्यधिक रहेको छ । विदेशमा उत्पादन भएका ड्रागनभन्दा नेपालमा उत्पादन भएको ड्रागन गुणस्तरीय, स्वादिलो भएकै कारण कृषकहरु यसतर्फ आकर्षित हुँदै गएका छन् ।

धरान ५ ठिंगाबारीका दुई दाजुभाइ कृषि फर्म नै खोलेर ड्रागन खेतीतर्फ लागेका छन् । नव ऊर्जा बहुद्देश्यीय कृषि फर्म सञ्चालन गर्दै आएका उनीहरुले पशुपालनसँगै ड्रागन खेती समेत सुरु गरेका हुन् । सञ्चालकमध्येका सूर्य लिम्बुले अरु फल सिजनमा एक लट फल्ने भएपनि यो फल ९ देखि १० लटसम्म उत्पादन हुने बताउँछन् । बजारमा प्रतिकेजी ६ सय रुपैयासम्म बिक्री हुने बताउँदै आएका लिम्बुले यसको बजार राम्रो भएको बताए ।

यो फल चैत्र अन्तिमदेखि कोपिला लाग्न शुरु हुन्छ । वैसाखदेखि फूल फुल्ने प्रक्रिया सुरु हुन्छ । कार्तिकसम्म फूलफुल्ने समय भएपनि फूल फुलिसकेपछि ४५ दिनपछि यसको फल लाग्ने अर्का किसान देवी लिम्बु बताउँछन् । फुल्ने, फल्ने प्रक्रिया ६ महिनासम्म निरन्तर हुने भएकोले यसबाट धेरै फाइदा लिन सकिने लिम्बुको भनाई छ ।

व्यापारीहरुले पनि स्थानीयस्तरमा उत्पादन भएका फलफूल विदेशबाट आयात गरेको फलफूलभन्दा गुणस्तरीय हुने दाबी गर्छन् । १५ वर्षदेखि फलफूल व्यवासयी गर्दै आएका  व्यापारी मानबहादुर भुजेलले ड्रागन अहिले नेपालमा भियतनामबाट भित्रिने भएपनि त्यहाँको उत्पादन भन्दा नेपालको उत्पादन गुणस्तरीय भएको दाबी गरे । उनले राज्यले यस्ता फलहरु उत्पादनमा कृषकलाई प्रोत्साहन गर्न सके खाँडी मुलुकमा गएर नेपालीले बेल्चा हान्नुपर्ने अवस्थाको अन्त्य हुने बताए ।

ग्राहकहरुले समेत बाहिरबाट आएको ड्रागन फल भन्दा नेपालमै उत्पादन भएको ड्रागनको स्वादमा आकाशपातलको फरक हुने बताउछन् । स्थानीय महेन्द्र अग्रवालले विदेशबाट आएका ड्रागन फल भन्दा नेपालको उत्पादन स्वादिलो भएको दाबी गरे । विगतमा भारतबाट मगाउने गरेका उनले अहिले नेपालकै उत्पादन खरिद गर्ने गरेको बताए । नेपालमा यस खेतीको प्रोत्साहनका लागि सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए ।

यसको खेती नेपालमा २०५७ सालदेखि भएको पाइन्छ । सो बेला पशु चिकित्सक जगन्नाथ राईले आफ्नो इन्जिनियर साथीमार्फत भियतनामबाट नेपाल भित्र्याइएको पाइन्छ । ड्रागन फलका लागि उष्ण र उपष्ण क्षेत्र उत्तम मानिन्छ र यसको खेती दक्षिण मोहडा भएको प्रसस्त घामलाग्ने र समुर्दी सतह देखि १ हजार ५ सय मिटर सम्म उचाइ भएको जमिनमा गर्न सकिन्छ ।  नेपालमा पनि यसको सम्भावना धेरै रहेको विज्ञहरुले बताएका छन् । यो खेतिबाट धेरै लाभ हुने भएकोले अहिले विस्तार हँुदै जाने क्रम बढ्दै गएको छ । अहिले नेपालमा  यसको खेति काभ्रे सुनसरी, रुपन्देही, गोरखा, झापा, धनकुटा, दाङ लगायत धेरै जिल्लाहरुमा गरिदै आएको छ ।