इटहरी / सुनसरी– १३ औं संस्करणको इटहरी गोल्डकपको उपाधी सगरमाथा युथ क्लब मोरङगले जितेको छ । इटहरी रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा चर्च व्बाईज युनाइटेडलाई पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले पराजित गर्दै सगरमाथाले लगातार दोस्रो पटक उपाधी उचालेको हो ।

निर्धारित समयमा दुबै टिमले गोल गर्न नसकेपछी खेलको निर्णय सिधै पेनाल्टी सुटआउटबाट लिइएको थियो । चर्च ब्वाइजका फ्रेकलिंग तल्ला, रञ्जीत पाण्डे, मिलन राई, बिदेशी खेलाडी बेम्पा र गोलकिपर प्रिसोको प्रहार गोलमा परिणत भए पनि मनोज राइको प्रहार आकाशिएको थियो । 

सगरमाथाका अभिषेक लिम्बु, मेसुके ओलामावस, स्टेफिन बिनोंग, राजीव लोप्चन, महिन्द्र कार्की र बिबेक बर्माको प्रहार गोलमा परिणत भएपछी सगरमाथाले उपाधी जितेको हो । सगरमाथाले उपाधीसंगै नगद १० लाख हात पारेको छ । उपबिजेता चर्च ब्वाईजले ५ लाखमा चित्त बुझाएको छ । 

प्रतियोगिताको उत्कृष्ट खेलाडी सगरमाथाका क्याप्टेन महिन्द्र कार्की घोषित हुनै नगद १ लाख पाए । सर्वाधिक गोल गरेका मछिन्द्र क्लबका आफिज ओलावालेले ३० हजार पाए ।

प्रतियोगिताको क्वाटरफाइनलमा ४ र सेमिफाइनलमा १ गरी उनले ५ गोल गरेका थिए । सगरमाथाका देब लिम्बु बेष्ट गोलकिपर, बिशाल बस्नेत बेष्ट डिफेण्डर, स्टेफिन बिनोंग बेष्ट फरवार्ड र याम गुरुङग बेष्ट कोच घोषित भए । चर्च ब्वाइजका मौषम लिम्बु बेष्ट मिडफिल्डर र म्यानअफ द फाइनल घोषित भए । उनीहरुले जनही नगद २० हजार हात पारे । चैत्र ४ गते सुरु भएको प्रतियोगितामा ८ टिम सहभागी थिए  ।