विराटनगर / मुख्य बजार क्षेत्रको सडकलाई पार्किङ निषेध गर्ने अभियानमा निरन्तर रुपमा लागेको विराटनगर महानगरपालिकाले ट्राफिक प्रहरीले गरेको पार्किङलाई समेत हटाएको छ । 

महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा नगर प्रहरीले जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि सडक र फुटपाथमा ट्राफिक प्रहरीले राखेका सवारी साधनहरु हटाएको हो । ट्राफिक प्रहरी कार्यालय अगाडि सवारी पार्किङ गर्दा आवतजावतमा समस्या भएको भन्दै महानगरमा अत्यधिक गुनासो आएपछि महानगरले पार्किङ हटाएको हो । 

सडकमा राखेका मोटरसाइकल नगर प्रहरीले हटाएको थियो भने चारचक्के सवारी साधन ट्राफिक प्रहरी आफैंले हटाएको थियो । कारबाहीमा परेका सवारी साधनलाई ट्राफिक प्रहरीले कार्यालय अगाडिको सडक र फुटपाथमा वर्षौंदेखि राख्दै आएको थियो ।

महानगरले मुख्य बजार क्षेत्रलाई पार्किङ निषेध गरेकाले ट्राफिक प्रहरी कार्यालय अगाडिको सडकमा पार्किङ गर्दा गलत सन्देश जाने भन्दै ट्राफिक प्रमुख सुनिलकुमार श्रेष्ठलाई मेयर कोइरालाले अबदेखि पार्किङ नगर्न आग्रह गरेका थिए । नियम कानुन सबैलाई बराबर लाग्ने भन्दै मेयर कोइरालाले विराटनगरलाई व्यवस्थित बनाउने अभियानमा आफूहरु लागेको सुनाए । 

विराटनगरवासीले बजारलाई पार्किङ निषेध गरे पनि ट्राफिक कार्यालय  अगाडि गर्न नसकेको भन्दै ै गुनासो आएपछि महानगरले ट्राफिक प्रहरीको पार्किङ समेत हटाएको हो  । जनगुनासोलाई मध्यनजर गरी ट्राफिक कार्यालय अगाडिको सडकलाई पनि पार्किङ निषेध गरिएको नगर प्रहरीका प्रमुख राजन पौडेलले बताए । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख सुनिलकुमार श्रेष्ठले ठाउँ अभावका कारण विगतदेखि नै राख्दै आएका बताएका थिए । महानगरले अगाडि बढाएको अव्यवस्थित पार्किङ हटाउने अभियानलाई आपूmहरुले सहयोग गर्ने बताए ।

ट्राफिक व्यवस्थापन गर्ने निकायकै कार्यालय अगाडिको सडकमा अव्यवस्थित पार्किङ हटाउनु पर्ने स्थानीयको महानगरसँग गुनासो पोखेका थिए ।