इटहरी  । नयाँ घर बनाउँदा इटहरी उपमहानगरपालिकाले आफैले नक्सा बनाइदिने भएको छ । भवन निर्माण आचारसंहिता अनुसारका घर बनाउन सघाउने गरी उपमहानगरपालिकाले आफैले नक्सा बनाइदिने तयारी गरेको हो ।

 इटहरी उपमहनगरपालिका मेयर हेमकर्ण पौडेलले स्थानीयले भवनको नक्सा बनाउँदा चर्को शुल्क तिर्नुपरेको गुनासो आएकाले उपमहानगरपालिकाले सहजीकरण गर्न लागेको बताए । “निवेदन दिएपछि नक्सा उपमहानगरपालिकाले नै बनाइदिन्छ”, उनले भने, साउन १ गतेदेखि यो सेवा लिन पाउनेछन् ।” 

भूकम्पप्रतिरोधी घर निर्माणमा स्थानीयलाई जागरुक बनाउन उपमहानगरपालिकाले नै चाहेअनुसारको नक्सा बनाइदिन लागेको बताउँछन् । “प्राइभेट इन्जिनियरिङ कन्सल्टेन्सीमार्फत घरको डिजाइन बनाउँदा धेरै महँगो पर्यो भन्ने गुनासो आएको छ”, उनले भने, “सहुलियत दरमा अब उपमहानगरपालिकाले नै नक्सा बनाउँछ ।” 
कन्सल्टेन्सीले घरधनीबाट लिने जथाभावी शुल्क, समयमा उपमहानगरपालिकामा दर्ता नगर्नेजस्ता समस्याले आफैले नक्सा बनाउने काम सुरु गर्न लागेको हो । जनताले थोरै शुल्कमा नक्सा बनाउन भन्ने हाम्रो उदेश्य हो मेयर पौडेल भन्छन ।