धरान । आज मे १ अर्थात अन्तराष्ट्रिय श्रमिक दिवस देशै भरका मजदुरहरुले मनाउँदैछन् । श्रमिक दिवसको अवसरमा सरकारले बिदा पनि दिएको छ । मजदुरहरूले सन् १८८६ देखि कठोर आन्दोलन गरी ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको मागलाई स्थापित गराउने गरेको संघर्षको सम्झना स्वरूप मे दिवस मनाउन सुरु गरिएको हो । नेपालमा भने २००७ देखि यो दिवस मनाउन थालिएको हो । 


जिफन्टको आयोजनामा धरानमा पनि मजदुर दिवस मनाउने तयारी गरिदैछ । १ सय ३४ औं श्रमिक दिवसको अवसरमा आज दिउँसो ३ बजे धरानको लोकतान्त्रिक चौतारीमा दिवस मनाउने तयारी गरिएको हो । संसार भरीका मजदुर एक हौं भनेर दिवस मनाउन लागिएको धरानका अग्रज मजदुर नेता रंगलाल गिरी बताउँछन् । मजदुरहरुको एकताका लागि चाडको रुपमा मनाउन लागिएको उनको भनाई छ । सबैलाई सहभागिताको लागि आग्रह गरेको छ । आउने दिनमा पनि मजदुर एक हौं भनेर जुन सुकै क्षेत्रमा काम गर्ने भए पनि मजदुरहरु एक बनाउनु पर्ने भन्दै दिवसलाई चाडको रुपमा मनाउन उनले आग्रह गरेका छन् ।


कार्यक्रममा शुभकामना आदान प्रदान गरिने नेपाल यातायात स्वतन्त्र मजुदर संगठनका केन्द्रिय अध्यक्ष भिम ज्वाला राईले बताए । उनका अनुसार कार्यक्रममा मे दिवसको इतिहासको बारेमा चर्चा हुन्छ । विश्वको मजदुरहरुको आन्दोलनको बारेमा जानकारी गराईन्छ ।


मजदुरहरुको हक अधिकार खोसिदै गएकाले देशै भरीका मजदुरहरुलाई संगठित गर्दै प्रशिक्षित गरेर हक अधिकार स्थापित गर्न दबाब शिर्जना गर्ने मुल उद्देश्य रहेको उनले बताए । उनले भने, ‘कानुनमा भएका कुरा निलम्बन हुँदैछ, प्रत्येक वर्ष ५ हजार श्रमिक थपिन्दैछ, उनीहरुले काम पाइरहेको छैन्, काम अनुसारको ज्याला पाइरहेका छैनन् । जिवन चलाउन सक्ने अवश्था छैन ।’ राज्यले दिएको अधिकार सुनिश्चित गर्दै मजदुरको हकहितका लागि संगठित गर्नका लागि दिवसको अवसरमा कार्यक्रम तय गरिएको उनले बताए ।