धरान । कोशी प्रदेश नामाङ्कन खारेज गर्दै किरात प्रदेश नामाकरणको माग सहित किरात राईहरुले यस वर्षको साकेला पर्व मनाउने भएका छन् ।

वैशाख २२ गते देखि शुरु हुने साकेला उभौलीको अवसरमा ‘कोशी प्रदेश नामाङ्कन खारेज गर, पुनःनेपालको प्राचीन सभ्यता एवम् वहु पहिचानको आधारमा किराँत प्रदेश नामाकरण गर’ भन्ने नारा सहित मनाउन लागिएको हो ।

किराँत राई यायोख्खा जिल्ला कार्य समिती सुनसरीको आयोजनामा हुने साकेला उभौलि पर्वको अवसरमा आयोजित पत्रकार सम्मेलनमा पहिचान र सभ्यताको आधारमा किराँत प्रदेश नामाकरण गरिनु पर्ने माग सहित सोकला मनाउने तयारी गरिएको यायोख्खा अध्यक्ष राजेन्द्र राईले बताए । 

वैशाख २२ गते देखि शुरु हुने साकेला उभौली १५ दिन सम्म मनाएर जेठ ६ गते धरान १७ स्थित साकेला पार्कमा समापन हुनेछ । शुक्रबार धरान १३ बिजयपुर डाँडा स्थित बुद्धिकर्ण राइको दरबार क्षेत्रमा साकेला थान पुजा गर्दै साकेला नाचेर किरातिहरुको महान चाड उभौली मनाउन सुरु गरिने छ । उभौलीको अवसरमा वडा कार्य समिती स्तरीय साकेला सिलि प्रतियोगिता आयोजना पनि गरिने भएको छ ।  

किरात समुदायको इतिहास र सभ्यतासँग सम्बन्धित साकेला अन्नबाली छर्ने बेला अर्थात वैशाख पूर्णिमा र अन्नबाली उठाउने समय मंसिर पूर्णिमामा एक÷एक महिना दिनसम्म मनाउने गरिन्छ । किराँत समुदायमा भूमि, पितृ र अन्नको पूजाआजा गरी साकेला चाड मनाउने प्रचलन रहेको छ ।