धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पछिल्लो समय आफ्नै सामाजिक सञ्जाल ‘हर्क साम्पाङ ए रेभुलेसन’ मार्फत सञ्चारकर्मीमाथि प्रयोग गरेका शब्दप्रति नेपाल पत्रकार महासंघ सुनसरीले तीनदिने अल्टिमेटम सहित ध्यानाकर्षणपत्र बुझाएका छन् ।

महासंघले अराजक शैलीमा प्रेस स्वतन्त्रता हनन हुने गरी सञ्चारकर्मी लक्षित अमर्यादित शब्द प्रयोग गरेको प्रति ध्यानाकर्षण गराउँदै तीन दिन भित्र चित्तबुझ्दो जवाफ दिन माग गर्दै स्पस्ट जवाफ नआए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

आइतबार धरान उपमहानगरपालिकाका मेयरकै कार्यकक्षमा पुगेर महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई र सविच धुव्र ढकालद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्तीमा तीन दिनभित्र स्पष्ट रुपमा चित्तबुझ्दो जवाफ नआएमा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

मेयर साम्पाङले केही समय अगाडि खानेपानी बोर्डमा मनोमानी ढंगले कर्मचारी नियुक्ति गरेको र विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष केशव घिमिरेले बोलेका कुरालाई लिएर सामाजिक सञ्चालमा सञ्चारकर्मी माथि मानमर्दन हुने खालका शब्द प्रयोग गरेका थिए । राज्यले समेत प्रेस स्वतन्त्रताको विषयमा सविधानमा उल्लेख गरेको अवस्थामा जथाभावि मानमर्दन हुने गरी लेखिएको पोष्टले सञ्चारकर्मीमाथि मानामानी भएको ठहर गर्दै ध्यानाकर्षण पत्र बुझाएको नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले जानकारी दिए ।

ध्यानाकर्षणपत्र बुझ्दै मेयर हर्क साम्पाङले तीन दिनभित्र लिखित जवाफ दिने प्रतिबद्धता जनाएका छन् । उनले कसैलाई लक्षित गरेर सामाजिक सञ्जालमा अमर्यादित ढंगले केही नलेखेको स्पष्ट पार्दै आफूमाथि लाग्ने आरोपलाई बुझेर र पुष्ट्याइ गरेर मात्र आधिकारिक धारणा सञ्चारकर्मीले बाहिर ल्याउनुपर्नेमा जोड दिएका थिए ।

केही समय अघि विभिन्न पार्टी सम्बद्ध युवा संगठनहरुले पनि हर्क साम्पाङले आफ्नो फेसबुक पेजमा अमार्यदित ढंगले शब्द प्रयोग गरेको भन्दै ज्ञापनपत्र बुझाएको थिए । पछिल्लो समय मेयर हर्क साम्पाङले सञ्चारकर्मीहरुलाई प्रयोग गरेको् ‘झोले पत्रकार’ शब्द प्रति महासंघको ध्यानाकर्षण भएको हो ।

सञ्चारकर्मी खिलानाथ विश्वकर्माले खानेपानी बोर्डमा मेयरले आफ्ना मान्छे भर्ती गरेको र विश्व प्रेस स्वतन्त्र दिवसका दिन महासंघ सुनसरीका अध्यक्ष केशव घिमिरेले सार्वजनिक कार्यक्रममा धरानका मेयर प्रेस स्वतन्त्रता विरोधी भएको, अहिले पनि नगरपालिकाभित्रको विभिन्न शाखामा भ्रष्टाचार मौलाएको र बोर्डमा जम्मा भएको ७ करोड हिनामिना भएको कुरालाई लिएर साम्पाङले आफ्नै फेसबुकमार्फत अपशब्द प्रयोग गरेपछि साम्पाङको व्यवहारप्रति पत्रकारहरुले सच्याउन ध्यानाकर्षण गराएका हुन् । उनीहरुले लोकतन्त्रमा विधि, विधान र प्रक्रिया हुने भएकोले आफूलाई लागेको आरोपको विषयमा प्रक्रियागत ढंगबाट अगाडि बढ्न पनि सञ्चारकर्मीहरुले मेयर साम्पाङलाई सुझाव दिएका थिए ।