धरान । नेवा एजुकेशन फण्डले शनिवार एक कार्यक्रमको आयोजना गरि १२ जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ । 

‘धरान १० के रन नेवा च्यारीटी दौड प्रतियोगिता बाट सङ्कलित रकमबाट फण्डले शैक्षिक सामग्री वितरण गरेको हो । फण्ड अन्तर्गत रहेको १२ लाख रुपैयाँ अक्षय कोषको त्रैमासिक व्याजबाट त्रैमासिक छात्रवृत्तिको रूपमा सामाग्री प्रदान गरिएको छ । विद्यार्थीहरुलाई आवश्यक स्कुल ड्रेस, ट्र्याक सुट कापी–कलम, क्यालकुलेटर, झोला, शब्दकोश, जुत्ता सहितका शैक्षिक सामग्री प्रदान गरेको छ ।

छात्रवृत्ति पाउनेहरू बालबालिकाहरूमा तामाङ पेमा, समर्पण राई, मनिता घतानी, नेहाम कार्की, उषा राई, आनु राई, नमुना कठैत, तोहिद अन्सारी, सोया लामा, निहाङग राई, समृद्धि मगर, विशाल देव छन् ।

पत्रकार महासघ सुनसरी अध्यक्ष जनकऋषि राईको प्रमुख अतिथि रहेको कार्यक्रममा धरान रनका अध्यक्ष रामु राईले धरान रन समूहको मातहतमा शिक्षाको पहुँच जेहेन्दार विद्यार्थीसम्म पुराउन नेवा एजुकेशन फण्ड स्थापना गरिएको बताए । उनका अनुसार ११ वर्षदेखि वर्षेनी हुँदै आएको ‘धरान १० के रन नेवा च्यारीटी दौड प्रतियोगिता’ बाट उठेको रकमबाट सञ्चालित अक्षय कोषले सामुदायिक विद्यालयका जेहेन्दार विपन्न विद्यार्थीहरूको छात्रवृत्तिलाई निरन्तरता दिँदै आएको छ ।

वर्षमा ३ पटक प्रदान गरिने छात्रवृत्ति विशेषतः दौड, स्वास्थ्य जीवनको निम्ति समर्पित रहेको छ । २०७९ फागुनमा सम्पन्न धरान १० के रन एघारौँ  नेवा च्यारेटीबाट १ लाख २ हजार ५० रुपैयाँ आम्दानी भएको अध्यक्ष राईले बताए ।

नेवा च्यारीटीबाट उठेको रकम नेवा एजुकेसन फण्डको अक्षयकोषमा थपिने र बाकी रकम विगत ११ वर्षदेखि सञ्चालित साप्ताहिक धरान रन दौड कार्यक्रममा खर्च गरिने भएको छ । धरानका १० सामुदायिक विद्यालयमा पढ्ने १२ जना विद्यार्थीलाई छात्रवृत्तिको लागि छनौट गरिँदै आएको छ ।

धरान रन समूहले आयोजना गरेको एघारौँ नेवा च्यारीटी रनमा १६ लाख खर्च भएको बताइएको छ । समूहले हरेक उमेर समूहका महिला तथा पुरुषहरूको शारीरिक तथा मानसिक पक्षको विकास तथा निरोगी एवं स्वास्थ्य जीवनका लागि दौडलाई प्रोत्साहित गर्दै आएको छ ।