धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिषर र धरान १८ आसपास कार्यरत टेम्पो तथा इ रिक्सा चालकहरुको भेलाले नेपाल यातायात स्वतन्त्र मजदुर संगठन टेम्पो तथा इ रिक्सा इकाई कमिटी गठन गरेको छ । 

आइतबार धरान १८ स्थित नेपाल बौद्ध गुम्बाको सभाहलमा चालकहरुको भेलाले चन्द्रबहादुर राईको अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा डिल्लीबहादुर लिम्बू, सचिवमा घनश्याम आचार्य, सहसचिवमा सोभीत राई र कोषाध्यक्षमा विजयकुमार राई रहेका छन् । 

कमिटीको सदस्यहरुमा प्रशान्त शाही, निलन राई, जीवन राई, सुरेश लिम्बू, तेज प्रधान, मनकुमार राई, राजकुमार तामाङ, श्यामकुमार राई, सिंहबहादुर लिम्बू, दुर्गामान तामाङ र श्याम राई रहेका छन् । 

majdurभेलाले घोपा क्याम्प अघि टेम्पो पार्किङ, भानुचोकको टेम्पो पार्किङ, धरानमा उत्पन्न ट्राफिक व्यवस्थापन तथा पार्किङ लगायतका समस्याका सन्दर्भमा स्थानीय सरकार, सरोकारवाला र जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानसंग छलफल गरी समस्याको समाधान खोजिने निर्णय गरेको छ । 

भेलाका प्रमुख अतिथि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले राज्य र राज्यका सम्पूर्ण संयन्त्रहरु श्रमिक प्रतिकुल रहेकाले श्रमिकहरुको अवस्था क्रमशः कमजोर हुँदै गइरहेको बताए । उनले भने ‘राज्य पूँजी पक्षिय र श्रमिकहरुलाई हेप्ने चरित्रको छ ।’ जसका कारण स्वरोजगारहरुको लगानी पलायन हुँदै गइरहेको र श्रमिकहरु विस्थापित हुँदै गइरहेकाले संगठित हुनु पर्ने राईले बताए । 

‘धरानमा सवारीको आयात अनियन्त्रित छ । ट्राफिक समस्या अस्तव्यस्त छ यो व्यथितिको भार चालकहरुले बोक्नु परिरहेको छ । कुनैपनि बेला धरान उपमहानगरले श्रमिकहरु र स्वरोजगारप्रतिकुल निर्णय लिनसक्छ त्यो बेला हामीलाई सहायता चाहिन्छ र हामी सहारा विहन हुनसक्छौं त्यसैले हाम्रो शक्तिका लागि संगठित हुनुको बिकल्प छैन’, राईले भने ।

भेलामा जिफन्ट धरानका अध्यक्ष शमशेर बर्देवा, संगठन धरान उपमहानगर कमिटी अध्यक्ष कमल भट्टराई, सुरक्षा श्रमिक ट्रेड युनियन धरानका अध्यक्ष गोपीनाथ योगी, लगायतका नेताहरुको सहभागीता रहेको थियो । भेलामा वडाका करिव ७० जना चालकहरुको सहभागीता रहेको थियो । 

नव निर्वाचित अध्यक्ष चन्द्रबहादुर राईले कमिटीको बैठक तत्काल बसेर ट्राफिक समस्या, पार्किङ समस्या र धरानका श्रमिकहरुको अन्य समस्याहरुको सुत्रबद्ध गरी समाधानका लागि पहल थालिने बताए । 

भेलामा सहभागी चालकहरुले ट्राफिक प्रहरीहरुको ज्यादती धरानमा तिब्र रहेको गुनासो गरेका थिए । सवारीसाधनहरु अनियन्त्रित भएपनि पर्याप्त पार्किङ छैन । तर, नरोक्ने स्थानमा रोकेको भन्दै जरिवाना काट्ने, अनावश्यक दुख दिने गरेको श्रमिकहरुको गुनासो थियो ।