रविन्द्र बराल

रंगेली  । विभिन्न मुद्धामा अदालतबाट फैसला भई फरार रहेका तीन जना अभियुक्त रंगेली प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा मोरङ जहदा गाउँपालिका ४ जयरामपुर टोलका ३० बर्षीय दिनेश कुमार मुखिया, धनपालथान गाउँपालिका ५ बबियाटोलका  ४० बर्षीय संजय मण्डल र ६० बर्षीय चम्पा देवी मण्डल रहेका छन् । 

पक्राउ परेका मुखियालाई जिल्ला अदालत मोरङले २०७९ माघ २७ गते ६ महिना  सजाय तोकेको थियो । लेनदेनको मुद्धा परेका उनलाई गाउँघरमै लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । 

यस्तै बोक्सीको आरोप लगाउने धनपालथान गाउँपालिका ५ बबियाटोलका ४० बर्षीय संजय मण्डल, सोही स्थानकी ६० चम्पादेवी मण्डललाई प्रहरीले पक्राउ गरेको छ । मण्डललाई जिल्ला अदालत मोरङकोे २०७८ मंसिर ७ गतेको फैसलाले ५ बर्ष कैद र नगद पचास हजार रुपैयाँ जरिवना तोकेको थियोे भने चम्पादेवीलाई  ४ बर्ष ११ महिना १ दिन कैद फैसला र नगद पचास हजार रुपैयाँ जरिवाना तोकिएको थियो । गाउँमै लुकेर बसेको अवस्थामा तीनै जनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक चन्द्र खड्काले बताए  ।