धरान । प्रेस स्वतन्त्रता विपरित अभिव्यक्ति दिएको भन्दै नेपाल पत्रकार महासंघ सुनसरीले धरान उपमहानगरपालिकाका मेयर लाई स्पष्टिकरणका लागि दिएको म्याद सकिदा पनि संस्थागत जवाफ नआएको भन्दै महासंघले आन्दोलनको घोषणा गरेको छ । 

मेयर साम्पाङले प्रेस स्वतन्त्रता हनन हुने गरी उनको फेसबुक पेज ‘हर्क साम्पाङ ए रेभुलेसन’ मार्फत अफवाह फैलाउने, गालिगलौज गरेको भन्दै महासंघले तीन दिने अल्टिमेटम सहित बुझाएको ध्यानाकर्षण पत्रको खिल्ली उडाएको भन्दै महासंघले आन्दोलनको घोषणा गरेको नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले बताए । 

महासंघले विहिबार विज्ञप्ती प्रकाशित गर्दै चरणवद्ध आन्दोलनको घोषणा गरेको हो । घोषित कार्यक्रम अनुसार मेयरले सञ्चारकर्मीमाथि गरेको दुव्र्यवहार विरुद्ध वैसाख २९ गते शुक्रबार जिल्ला प्रशासन कार्यालय सुुनसरीमार्फत गृहमन्त्रालयलाई ज्ञापनपत्र बुझाउने, वैसाख ३० गते शनिवार सुनसरीबाट प्रकाशित पत्रपत्रिका र अनलाइन पोर्टलहरुमा एउटै नारा प्रकाशन ÷प्रशारण गर्न अनुरोध गर्ने, वैसाख ३१ गते आइतबार सबै पत्रकारहरुले सामाजिक सञ्जालमा एउटै नारा लेख्ने, जेष्ठ १ गते सोमबार धरानमा मौन जुलुस निकाल्ने र जेष्ठ  २ गते मंगलबार धरानका पूर्व नगरप्रमुखहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

महासंघका अध्यक्ष राईले मेयरले व्यक्तिगत सामाजिक सञ्जाल मार्फत पत्रकारलाई अनावश्यक रुपमा गाली गलौज गर्ने, अपशब्द बोल्ने गरेपछि वैसाख २३ गते तीनदिने अल्टिमेटम सहितको ध्यानाकर्षणपत्र दिएको बताए । उनले भने, ‘आधारिक रुपमा हामीलाई त्यो समेत बुझाएका छ्रैनन् अहिले पनि उनको व्यवहारमा परिवर्तन आएको छैन, यसले गर्दा महासंघले आन्दोलनको घोषणा गरेको हो ।’

महासंघले प्रकाशित गरेको विज्ञप्तीमा भनिएको छ–‘लोकतन्त्रमा स्थायी प्रतिपक्ष मानिने प्रेसले आलोचनात्मक टिप्पणी गर्ने आफ्नो धर्म निर्वाह गर्दा त्यसलाई विरोधको अर्थमा बुझिनु गलत भएको ठहर गरेको छ । मेयरले देखाएको पछिलो कार्यशैली र कार्य कुनै पनि सभ्य समाजका लागि लज्जाको विषय बनेको महासंघले दाबी गरेको छ । विज्ञप्तीमा लेखिएको छ, ‘उनकै कारणले गर्दा पत्रकारहरूले असुरक्षित महसुस गर्नुपर्ने अवस्था सिर्जना भएको बताउँदै सञ्चार ऐन बनाएर स्वतन्त्र पत्रकारिताको रक्षा गर्नु स्थानीय सरकारको दायित्व हो, तर सरकार प्रमुख आफैं स्वतन्त्र प्रेस विरोधी देखिनु दुर्भाग्यपूर्ण भएको हामीले ठहर गरेका छौं ।’