धरा न/  कवि पराजित पोमु शनिबार यहाँ आफ्ना कविताबारे बोल्दै थिए । सन्दर्भ थियो– उनकै दोस्रो कविताकृति ‘मद्वारा मेरो निर्माण’ बारे पर्चिा कार्यक्रम । यसको चाँजो मिलाएको थियो, कलरव धरानले  ।

इतर अभियानका अभियन्ता पोमु आफ्ना कवितामा ‘इतर आवाज’ लाई स्थान दिने कवि हुन् । वर्चश्वशाली समुदाय वा राज्यसत्ताले कमजोर समुदायमाथि गरेको दमन र अत्याचार उनका कविताका विषय हुन्, तर उनी एउटै विषयमा मात्र बाँधिएका भने छैनन् ।

परिचर्चा कार्यक्रमका सहजकर्ता उत्तिकै रुचाइएका अर्का समकालीन कवि चन्द्र गुरुङले पोमुका कवितामा विषयगत विविधता भएको बताइरहेका थिए । 

परिचर्चामा सहभागी डा। अस्मिता विष्टले फरक कथ्य र शैली नै कवि पोमुका कविताको शक्ति भएको बताइन् । ‘पोमुका कवितामा लिम्बू समुदायका विम्ब र मिथकहरूको प्रशस्त प्रयोग भएको छ’, उनले भनिन्, ‘यही नै यी कविताहरूको शक्ति पनि हो ।’ उनका कविताहरू पढेपछि आपूmमा पनि मुन्धुमको अध्ययन गर्न रुचि जागेको डा विष्टको भनाइ थियो । 

वार्तामा सहभागी ‘मुन्धुम कवि’ का रूपमा चिनिने प्रदीप मेन्याङ्बोले पनि लिम्बू समुदायका मिथक तथा मुन्धुमका पात्र, प्रतीक र विम्बहरूको यति धेरै प्रयोग गरेर लेखिएको अर्को पुस्तक आफुले नभेटेको बताए ।

उनको विचारमा पोमुका कविता बुझ्न   लिम्बू मुन्धुम र संस्कृति बुझ्नुपर्छ । डा। विष्टको धारणा पनि यस्तै थियो । उनले प्रेमिल कविताहरूमा पनि मुन्धुमी विम्ब, प्रतीक र पात्रहरूको सुन्दर प्रयोग गरेको वार्तामा सहभागी वक्ताहरूको धारणा थियो । 

त्यस क्रममा कवि पोमुले समाजप्रति हरेक कवि–लेखकको जिम्मेवारी हुने र त्यही जिम्मेवारी बोध गरेर आफुले  कविता लेख्ने गरेको सुनाए । ‘समाजको चेतना निर्माणमा कवि–लेखकको भूमिका हुनुपर्छ ।’ उनको धारणा छ । कार्यक्रमका प्रमुख अतिथि अग्रज कवि बम देवानले पोमुका कविताहरू प्रभावशाली भएको धारणा राखे । 

कवि विशाल नाल्बोले पोमुको कविताकृतिबाट एउटा कविता वाचन गरेपछि कार्यक्रम सुरु भएको थियो । कवि सुदीप पाख्रिनले सञ्चालन गरेको कार्यक्रममा पोमुको परिचयात्मक छोटो भिडियो पनि देखाइएको थियो । सो भिडियो बिरेन सुब्बाले तयार पारेका हुन् ।