धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको गित मोह अहिले धराने जनता सहित कर्मचारीहरुले पनि मनोरञ्जनको माध्यमको रुपमा लिने गरेका छन् ।
उनको आफ्नै फेसबुक पेज ‘हर्क साम्पाङ ए रेभुलेसन’ बाट गितार बजाउँदै गित गाउँने गरेका छन् । उनको गितले कसैलाई व्यङ्ग हान्ने भएकाले सबैले मनोरञ्जन लिने गरेका छन् । पछिल्लो समय साम्पाङले सामाजिक संजालमा गाएको नयाँ गीत ‘भाग पर भाग भाग’ धरान लगायत बाहिरका सर्वसाधारणले मिश्रित प्रतिक्रिया दिएका थिए ।
कसैले कमेन्टमा मेयर सावको संगीत मोह बढ्दै गएको छ, कसैले वाहियात गीत प्रस्तुत गरेको, कसैले देशभक्ति गीत त कसैले साम्पाङको गीतले मनोरञ्जन प्रदान गर्ने खालका कमेन्टहरु आएका थिए ।
भ्रष्टाचारीलाई लक्षित गरी फेसबुक पेज मार्फत ‘गुइँठे’ भन्दै वडाअध्यक्षहरुलाई गालि गर्दै गाइएको गित उनको पहिलो थियो । त्यस पछि निरन्तर आफ्ना विरुद्धमा उत्रनेहरुलाई गित मार्फत गालि गर्न थाले । उनले पछिल्लो समय ‘के को लाज के हो लाज माटो छुनु के को लाज’ भन्ने गीत गाए ।
यस गीतमा पनि सर्वसाधारणले मिश्रित प्रतिक्रिया दिएका छन् । भ्रष्टाचार, कुरिति र श्रम गर्न प्रेरित भएका उनका गीतले सन्देश दिने प्रयत्न गरिए पनि उनी आफै विवादमा फस्दै गएपछि भने उनले प्रस्तुत गरेको गीत सन्देशले सकारात्मकता भन्दा पनि मनोरञ्जन, मजाकको रुपमा सर्वसाधारणले लिने गरेका छन् । रमाइलोेकै लागि भए पनि दिनमा एक पटक हर्क साम्पाङको फेसबुक पेज खोल्ने गरेको सर्वसाधारण बताउँछन् । नाम बताउन नचाहेका धरानका एक सर्वसाधारणले हर्क साम्पाङले प्रस्तुत गरेको गीत देशभक्ति, देशमा केही गर्नुपर्छ, युवालक्षित र श्रमसँग सम्बन्धित छन् । राजनीतिक दलप्रतिको वितृष्णाका कारण स्वतन्त्र उमेद्वार हर्क साम्पाङले जिते पनि धरान विकासमा ‘भिजन नभएको मेयर’ को रुपमा सर्वसाधारणले दर्ज गरेका छन् ।
चुनावताका नै उनले धरानको खानेपानी समस्या समाधान गर्ने मुख्य एजेण्डा बोकेर आएका साम्पाङले निर्वाचित भएर आएपछिको एक बर्षको अवधि खानेपानीमै ल्याउने कुरामा ध्यान केन्द्रित गरे । त्यसैले पनि हुन सक्छ उनको गीतमा श्रमदानलाई बढी जोड दिएको पाइन्छ । श्रमदानलाई लक्षित गरेर केही समय अगाडि उनले ‘श्रमदान देउ, मेरो लागि होइन देशका लागि हो’ भन्ने गीत सामाजिक सञ्जालमा प्रस्तुत गरेका थिए । त्यसपछि उनले किराती भाकामा प्रस्तुत ‘देश विकासमा जुटौ’ भन्ने गीतको कमेन्टमा हेर्ने हो भने अधिकांशले ‘मजाक’ को रुपमा लिएका छन् थोरैले मात्र सकारात्मक कमेन्ट गरेको पाइन्छ ।’
उनले गीतमार्फत व्यंग्य प्रस्तुत गर्ने गरे पनि उनी आफै विवादमा पर्ने गरेका कारण थोरैले ज्ञानको रुपमा ग्रहण गर्ने गरेका छन् भने अधिकांशले ‘मनोरञ्जनको’ को रुपमा पनि लिने गरेको पाइन्छ ।