धरान  /  राणाकालीन समयमा पूर्वाञ्चलको मुख्य व्यापारिक केन्द्र रहेको धरान उपमहानगरपालिका–१३ स्थित फुस्रे बजारको ऐतिहासिकतालाई उजागर गर्न फुस्रेमा ऐतिहासिकता झल्किने शालिकसहितको पार्क बनेको छ ।

कोसी राजमार्ग सञ्चालनमा आएपछि यातायातको पहुँच पूर्वी पहाडी जिल्लाहरुमा सोझै पुग्न थालेपछि मृत बजारको रुपमा इतिहासमा सिमित हुन पुगेको बजारको पूरानो साख फर्काउन यो पार्क बनाएको हो ।

तर यो पार्कको प्रचारप्रसार नहुदा पार्क बनेको कुरा थोरैलाई मात्र थाहा छ, व्यापाक प्रचार नभएकै कारण धरान १३ र २० मा रहेको बीपी पार्कमा सर्वसाधारण रमाउने गरेपनि फुस्रेमा बनेको ऐतिहासिकता झल्किने पार्ककमा सर्वसाधारणको नजर नै पुग्न सकेको छैन ।

राणाकालीन समयमा राणाहरुले पूर्वमा खाद्यान्य पुर्‍याउन धरान उपमहानगरपालिका–१३ स्थित फुस्रेमा गोदाम घर स्थापना गरेका थिए । गोदाम घर निर्माण भएपछि करिब वि.स २०३५ सालसम्म फुस्रे बजारमा व्यापारिक चहल पहल धेरै नै थियो ।

furre-park-7

स्थानीय स्वर्गीय रामजी श्रेष्ठको पहलमा फुस्रे बजारको स्थापना भएको थियो । त्यसबेला पूर्वी पहाडी भेगका मानिसहरु दुई तीन दिनको पैदलै हिडेर डोकोमा बोकेर कृषिजन्य सामग्री यही बजारमा ल्याएर विक्री गर्दथे भने दैनिक उपभोग्य बस्तुहरु खरिद गरेर लिएर जाने गर्दथे । तर, यो बजार अहिले सुनसान छ ।

करिब ४० वर्ष अगाडी कोशी पहाडी राजमार्ग सञ्चालनमा आएपछि पहाडी क्षेत्रमा यातायातको विस्तार हुन थालेपछि व्यापारिक केन्द्रको रुपमा रहेको फुस्रे बजार विस्तारै सुनसान बन्दै गएको हो । तर, यो फुस्रे बजारलाई पुर्नजिवित बनाउन स्थानीय सरकार, स्थानीयबासी जुटेका पनि सोचेजस्तो काम हुन सकेको छैन ।

फुस्रे चोकमा व्यापारिक ऐतिहासिकता झल्किने गरी फुस्रे चोक सौन्दर्यकरण पार्क निर्माण भएपछि फुस्रेका स्थानीय हर्षित भएका थिए । स्थानीय सुधिर महर्जनले ऐतिहासिकता झल्किने गरी फुसे्रमा पार्क बनेपछि फुस्रेको चहलपहल बढ्नेमा आशा व्यक्त गरेका थिए ।  महर्जनजस्तै स्थाननीय देवेन्द्र श्रेष्ठले पनि सो अपेक्षा गरेका थिए । तर अहिले पनि फुस्रे बजारको अवस्था विगतको भन्दा फरक छैन, खासै चहलपहल छैन ।

फुस्रे छेवैमा रहेको सर्दुजलाधार क्षेत्रलाई वीपी पार्कको रुपमा विकास गरेपछि केही चहलपहल भने बढेको छ । फुस्रे बजारमा पार्क निर्माण भएपछि फुस्रे बजारको पुरानो साख फर्किनेमा स्थानीयहरुले विश्वास लिएका थिए ।

फुस्रेको ऐतिहासिकता बारेमा नयाँ पिढीलाई चिनाउन र सुनसान बनेका फुस्रेलाई पर्यटकीय हब बनाउने परिकल्पनाका साथ पार्क निर्माण गरिएको फुस्रे चोक सौन्दर्यकरण उपभोक्ता समितिका अध्यक्ष गौतम श्रेष्ठले बताएका छन् ।  तर फुस्रेमा जुन चहलपहल बढ्नुपर्ने हो त्यो हुन नसकेको उनको भनाई छ ।

धरान उपमहानगरपालिकाको १४ लाख ४० हजार र स्थानीयको ३ लाख ६० हजार गरी १८ लाखको लागतमा पार्क निर्माण गरिएको थियो । स्थानीय मूर्तिकार धिरज राईले कलात्मक ढंगले मुर्तीहरुको निर्माण गर्नुभएको छ ।

त्यहाँ पहाडी भेगबाट झरेका कृषक, तराइबाट आउने व्यापारी र स्थानीय व्यापारीहरुको र्मु‘तीहरुसहित धरानको खानेपानीको मुख्य स्रोत सर्दु जलाधार क्षेत्र झल्किने आकृति समेत निर्माण गरिएको छ । फुस्रेको ऐतिहासिकतालाई फर्काउन स्थानीयको सहयोगमा स्थानीय सरकार लागि परेको धरान १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले बताए ।

यसै वडाका स्थायी बासिन्दा समेत रहेका भएका प्रदेश १ का तत्कालीन सभामुख प्रदिपकुमार भण्डारीले २०७७ पौष ७ गते निर्मण भएको पार्कको समुद्घाटन गरेका थिए ।