धरान । सरकारले चालु आर्थिक बर्षमा धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई उपेक्षा गरेको छ । सरकारले निती तथा कार्यक्रम र आफ्नो बार्षिक बजेटमै विपी प्रतिष्ठानलाई देखिनेगरी सम्बोधन गरेको छैन । देशका अन्य प्रतिष्ठानहरुलाई बजेटमा स्पस्ट सम्बोधन गरेपनि विपी प्रतिष्ठानलाई सम्बोधन गरेको छैन ।

पछिल्लो समय प्रतिष्ठानको अनियमितता,कमजोर ब्यबस्थापन,सेवा प्रबाहको अस्तब्यस्तता जस्ता कारण देखाएर सरकारले उपेक्षा गरेको हो । पुर्वी नेपालका जनताको अति विशिष्ट उपचार गर्ने एकमात्र सरकारी सस्था प्रतिष्ठान मात्र हो । प्रतिष्ठानहरुको छाता ऐन बनाएर एकीकृत हिसाबले सञ्चालन गर्न सरकारले तयारी गरीरहेकाले पनि प्रतिष्ठानलाई बजेटमा छुटाइएको हुन सक्ने अनुमान गरिएको छ । सरकारले प्रष्तिठानको स्वायत्त अधिकार खारेजी गर्ने तयारी गरेको समेत चर्चा हुन थालेको छ ।प्रतिष्ठान अहिले उपकुलपती विहिन भएको छ ।

उपकुलपती डा.ज्ञानेन्द्र गिरी भ्रष्टचार अभियोगमा मुद्धा दायर भएपछि निलम्वीत अबस्थामा रहेका छन् । सरकारले प्रतिष्ठानका रेक्टर प्राडा सञ्जीबकुमार शर्मालाई निमित्त उपकुलपतीको जिम्मेवारी दिएको छ ।