धरान /  केही दिन यता पूर्वी तराईमा अत्याधिक गर्मी बढेको छ । विहानैदेखि चर्को घाम र तातो हावा  समेत चल्ने गरेकालाई मानिसहरुलाई हिड्डुल गर्न समेत समस्या भएको छ ।

 अधिक गर्मीका कारण अत्यावश्यक कामबाहेक मानिसहरु घरबाहिर हिड्नै छाडेका छन् ।

पूर्वी तराईका जिल्लाहरुमा गर्मी अत्याधिक बढेपछि चहलपहलमा कमी आएको छ । 

विहानैदेखि लाग्ने चर्को  घाम र दिउँसो चल्ने तातो हावाका कारण घरबाहिर निस्कनै मुस्किल भएपछि सहरबजारमा चहलपहल ह्वात्तै घटेको हो । 

 गर्मी अत्याधिक भएकै कारण सर्वसाधारण अत्यावश्यक कामबाहेक घरबाहिर निस्कनै छाडेको सर्वसाधारण बताउँछन् ।

 गर्मी बढेपछि मोटरसाइकल जस्ता दुई पाँग्रे सवारी साधन समेत कममात्रमा सडकमा देखिने गरेका छन् भने अत्यावश्यक काम भएका सर्वसाधारणहरु समेत छाता ओढेर मात्र बाहिर निस्किने गरेका छन् ।

बालबालिका, जेष्ठ नागरिक, दैनिक मजदुरी गरेर गुजारा टार्नुपर्ने मजदुरहरु बढी मारमा परेका छन् । पूर्वी तराईका जिल्लामा ४० डिग्री भन्दा बढी तापक्रम हुन थालेपछि यो अवस्था आएको हो ।

 धरानमा समेत अत्याधिक गर्मी भएसँगै सर्वसाधारण बाहिर निस्किन छाडेका छन् । धरान १५ की विमला बस्नेत सपिङ गर्न साँझ शितल फर्केपछिमात्र जाने गरेको बताइन् ।

 उनले भनिन्–‘गर्मी अत्याधिक छ, दिउँसो हिड्नै कठिन छ, सब्जी लिन पनि बेलुका शितल फर्केपछिमात्र जान्छु ।

’ अत्याधिक गर्मी भएकै कारण धरानमा सामुदायिक विद्यालय तथा नीजि विद्यालय ६ दिनसम्म बन्द गरेको छ भने तराईका अन्य जिल्लामा समेत विद्यालय बन्द गरिएको छ ।

 ज्याला मजदुरी गर्नेहरु काम गर्न नसक्ने अवस्थामा छन्  गरिहाले पनि छाता ओढेर काम गर्न बाध्य छन् । 

धरान १६ का मजदुर किशन गुरुङ घर बनाउन ठाममा लेबरका बकाम गर्छन् । अहिले अत्याधिक गर्मीका कारण दुई दिनदेखि काममै जान छोडेको बताउँछन् ।

 गुरुङ भन्छन्–‘सबैको गर्मीमा छुट्टी हुन्छ, छुट्टी हुदा पनि तलब पाकिरहेको हुन्छ, हामी ज्यालादारी गर्नेहरुलाई न त छुट्टी हुन्छ आफै छुट्टी बस्दा पनि छुट्टीको पैसा पाइदैन ।’

गर्मीका कारण सबैभन्दा बढी यस्ता श्रम गरेर दुई छाक टार्नेलाई समस्या भएको छ ।

 यतिमात्र हैन गर्मीका कारण स्वास्थ्यमा समेत समस्या बढी देखिन थालेको छ । 

धरानस्थित बीपी कोइरालामा अहिले झाडापखाला, भाइरल ज्वरो लगायतका विभिन्न रोगको उपचारमा विरामीहरु आउने गरेको चिकित्सकहरु बताउँछन् । 

गर्मीबाट बच्नका लागि पानी धेरै पिउन, घाममा अत्यावश्यक कामबाहेक ननिस्कन, निस्किहाले छाता ओढेर वा घामबाट बच्न सक्ने अपाय अवलम्बन गरेरमात्र निस्कन चिकित्सकहरुले सर्वसाधारणलाई सुझाएका छन् ।