धरान /  बीपी मेमोरियल राष्ट्रिय कराते प्रतियोगिता अन्तर्गत ‘प्रथम बीपी मेमोरियल कराते प्रतियोगिता २०८०’ आगामी जेष्ठ २६ गतेदेखि धरान रंगशालाको सेभी कभर्डमा हुने भएको छ ।

आयोजक सितारियो कराते संघ धरानले नेपाल पत्रकार महासंघको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता गने जानकारी गराएको छ ।

आयोजक समितिका अध्यक्ष कुविरमान राईका अनुसार दुई दिनसम्म चल्ने  प्रतियोगितामा  ७ वटै प्रदेश, विभागीय खेलाडी नेपाल पुलिस, नेपाल आर्मी र सशस्त्र प्रहरी गरी ११ वटा टिमले सहभागिता जनाउने भएका छन् ।

उनका अनुसार प्रतियोगितामा ३५, ४०, ४५, ५०, ५५, ६१ ६८ र ३८ केजी भन्दा माथिका १-१ जना खेलाडीले सहभागिता जनाउने भएका छन् ।

महिला हिंसा विरुद्धको आवाज तथा महिला रुचि र महिला सहभागिता भन्ने नारालाई आत्मसात गर्दै विविध कारणले स्थगित भएको सो प्रतियोगितालाई निरन्तता दिन लागेको अध्यक्ष राईले जानकारी दिए । उनका अनुसार प्रथम हुने खेलाडीले १ लाख, दोस्रो हुने टिमले ७५ हजार र तृतीय हुने टिमले ५० हजारसहित ट्रफी प्राप्त गर्नेछन् ।

२०५० सालमै अन्तर्राष्ट्रियमा नै बरिष्ठ गुरु हेम पुनको प्रयासमा पूर्व बक्सिङ खेलाडी विनोद राईको संयोकत्वमा अन्तर्राष्ट्रिय स्तरको कराते प्रतियोगिताको आयोजना गरेको थियो । त्यसबेला नेपालका १४ जिल्लाका खेलाडीसहित भारतको नयाँदिल्ली, पटना, दार्जिलिङ, सिक्किमको सहभागिता रहेको थियो ।

इसलाई निरन्तता दिन ०६३ सालमा सितारियो कराते संघ धरान स्थापना गरलगत्तै ०६४ सालमा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न सकेको थियो ।

श्रीलंका, बंगलादेश, भुटान, भारतको मेघालय आसाम, सिक्किम तथा नेपालका विभागीय टिमले त्यसबेला प्रतिष्पर्धा गरेका थिए । त्यसबेला आयोजक टिम धरानले ५ स्वर्ण र ३ रजत ३ कास्य पदक प्राप्त गर्दै प्रथम स्थान हासिल गरेको थियो । ४ स्वर्ण २ रजतसहित भारत दोस्रो र १ स्वर्ण ५ रगत २ कास्य प्राप्त गर्दै नेपाली सेनाले तेस्रो स्थान प्राप्त गरेको थियो ।

त्यसयता बजेट अभाव, कोरोना संक्रमण लगायत विविध कारणले यो प्रतियोगिता हुन सकेको थिएन । तर अन्तर्राष्ट्रिय स्तरको यो प्रतियोगितालाई निरन्तता दिनकै लागि यस बर्ष राष्ट्रिय स्तरको महिला कराते प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।