धरान ।काठमाण्डौ स्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रहरीले गोली हानी पक्राउ गरेका विकास भगत धरानमा तरकारी पसल गर्दै आएको अनुसन्धानबाट खुलेको छ । तरकारी पसलको आडमा उनले भारतबाट नेपालमा लागुऔषध सप्लाई गर्ने डिलरको रुपमा काम गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अनुसन्धानमा प्रभाब पर्ने भन्दै प्रहरीले थप विवरण सार्वजनिक गरेको छैन । 

यसरी पक्राउ परे विकास

प्रहरीको विषेश  टोलीले पछिल्लो तिन सातादेखि भारतबाट लागूऔषध ल्याउने एउटा टोलीको पिछा गरिरहेको थियो । काठमाण्डौमा पक्राउ परेका एक कारोबारीको बयानपछि प्रहरी कारोबारीको जालो सम्म पुग्न अनुसन्धामा खटेको थियो । उनी सम्म पुग्न प्रहरीले उनका गिरोहका अन्य दुई जनालाई प्रक्राउ गरि सकेको थियो । तर प्रहरीले मुख्य गिरोह सम्म त्यो म्यासेज पुग्न दिएन । त्यहीबाट  विकास भगतले भारतको जोगबनी नाकाबाट यो गिरोहका लागि डिलरका रुपमा लागूऔषध ल्याउने गरेको अनुसन्धानबाट खुलेको थियो ।

अनलाईन खबर डटकमले एक अधिकारीको भनाई उदृत गर्दै लेखेको छ ‘ भगतले आइतबार बिहान ८ बजे विराटनगरबाट काठमाडौं आउन हवाई टिकट काटेको सूचना प्रहरीले पायो । त्यही सूचनाको आधारमा ब्यूरोको एक टोली विमानस्थलमा खटिएको थियो ।’

प्रहरीले भनेको छ उनको अरु कनेक्सनको बारेमा पनि जानकारी लिनु पर्ने भएका कारण उनलाई विमानस्थलको ट्रमिनलबाट पक्राउ नगरी पिछामात्र गरिएको थियो ।

विमानस्थलबाट निस्किएपछि भगत विमानस्थल पछाडिबाट गौशाला जाने रहेको होटलमा प्रवेश गरे ।

उनी होटलमा प्रवेश गरेपछि प्रहरी टोली पछि पछि भित्र गयो । अनुसन्धान अधिकृतहरुका अनुसार उनले त्यहाँ कसैलाई सामान हस्तान्तरण गर्न लागेका थिए । तर, तल्लो तलामै प्रहरीसँग घम्साघम्सी भयो । प्रहरी भएको बताउँदै पक्राउ गर्न लागेको जानकारी गराउँदा उनले प्रतिकार गर्न खोजेको अधिकृतहरु बताउँछन् ।उनले प्रहरीको हतियार खोसेर प्रहरीलाई नै हान्न खोजेपछि प्रहरीले उनीमाथि गोली प्रहार गरेको ति प्रहरी अधिकृत बताउछन् ।

 ‘प्रहरीलाई नै जोखिम हुने स्थिति भएपछि घुँडामुनि गोली हानिएको प्रहरीले जनाएको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) का प्रमुख एसएसपी गोविन्द थपलियाका अनुसार, घाइते उनलाई लगत्तै उद्दार गरेर काठमाडौं मेडिकल कलेज, सिनामंगल पठाइएको थियो ।‘उनको साथमा १०० ग्राम लागूऔषध ब्राउन सुगर बरामद भएको छ’, थपलियाले सञ्चार माध्यममा जनाएका छन् ।