धरान/ साउनको महिना । बोलबमको महिना । त्यसमा पनि साउनको सोमबार भगवान शिवका प्रिय बार । धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा गेरवस्त्र (पहिलो वस्त्र) धारी भक्तजनहरु उल्लेख्य रुपमा जल चढाउन आएका छन् ।
साउनभरि मलबास पर्ने भएकोले पहिलो सोमबार नै अत्याधिक भीड बढेको हो । बोलभक्तजनहरुको घुइाचोका कारण व्यवस्थापनमा कठिनाई भएको छ ।
धर्मप्रति आस्था बढेकै कारण बोलबम भक्तजनहरुको संख्यामा समेत बृद्धि भएको बुद्धिजीवि एवम् समाजसेवी प्रा.डा. राजेन्द्र शर्माले बताउनुभयो ।
उनले यो बर्ष एक महिना मलवास परेका कारण पहिलो हप्तामै भक्तजनहरुको उल्लेख्य भीड रहेको बताए ।
उनले भने–‘ एकै महिनामा दुई वटा औँसी परेको छ भने मलबास भन्ने गरिएको छ, त्यसबेला सामान्य पूजाआजा चलेपछि ठूला ठूला कार्यहरु हुदैनन, त्यही भएर पहिलो हप्ता नै मन्दिरमा अत्याधिक भीड बढेको हुनुपर्छ ।’
रुद्राक्षरण्य क्षेत्र र ऐतिहासिक क्षेत्र भएकै कारण यहाँ विभिन्न ठाउँबाट भक्तजनहरु आउने गरेको पाइएको उनको भनाई । नेपालका विभिन्न स्थान र भारतका विहारदेखि पनि भक्तजनहरु आएको उनको भनाई छ ।
भीड अत्यन्तै बढेकाले नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत स्वयम्सेवकले लाइनलाई व्यवस्थित बनाउने काम गरेका छन् ।
पिण्डेश्वर मन्दिर प्रांगरणमा सवारी चाप नबढोस् भन्ने उद्देश्यले पिण्डेश्वर क्याम्पस माथि रहेको खुल्ला चउरीमा ट्राफिक प्रहरीले पार्किकको व्यवस्था गरेको छ ।
यता दुईधारेमाथि पिण्डेश्वरसम्म सवारी साधन लान दिएको छैन । ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त बनाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख श्यामकुमार बस्नेतले बताए ।
भक्तजनहरुको सुविधाका लागि कोशी प्रदेश प्रहरी अस्पताल बेलबारीले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
शिविरमा सुगर, प्रेसर लगायतका निःशुल्क चेकजाँचसँगै निःशुल्क औषधि वितरण गरिएको छ । यस्तै विभिन्न संघ संस्थाहरुले निःशुल्क खानेपानीको व्यवस्था, खाजा नास्ताको व्यवस्था समेत गरेका छन् ।
विगतदेखि नै टेन्ट व्यवसायीहरुले बोलबमका बेला खाजा नास्ता निःशुल्क वितरण गरेको थियो भने यस बर्ष पनि निःशुल्क व्यवस्था गरिदिएको छ ।
भक्तजनहरुले समेत सप्तकोशीको जल धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा चढाउँदा पुण्य कमाउने अपेक्षालिएर आउने गरेको पाइएको छ ।
इटहरीकमा सुमन विक यो संगै ५ पटक सप्तकोशीको जल ल्याएर पिण्डेश्वरमा चढाएको बताउँछन् । जल चढाउदा परिवारमा सुख शान्ति मिल्ने उनको भनाई छ ।