धरान/ धरान उपमहानगरपालिका वडा नं १७ को ठकुरी खोला किनाराको डाफे मार्गमा बसोबास गर्नेहरु बर्षादका् समय नआओस् भनेर कामना गरेर बस्छन् । विगतमा बर्षाद्ले पुर्‍याएको धन सम्पत्तिको क्षति सम्झिदै उनीहरु पुन: त्यस्तो नहोस् भनेर कामना गरिरहन्छन् ।

बर्षाद्को समयमा उनी रातिभरि सुत्दैनन् । पानी परेको बेला नजिकैको ठकुरी खोलाले धार परिवर्तन गरी बस्तीतिर पसेर धनजनको क्षति हुने हो कि भन्ने त्रासमा उनीहरु रातभर जाग्राम बस्छन् ।

 यस बर्ष पर्याप्त बर्षा भएको छैन । बाढी र पहिरोले पहाडी क्षेत्रमा क्षति पुर्‍याएपनि तराई क्षेत्रमा खासै बर्षात भएको छ । खासगरी खोला किनारामा घर बनाएर बस्नेहरु भरसक बर्षा नहोस् भन्ने चाहन्छन् । बर्षेनी आएको बर्षाले पुर्‍याएको क्षतिका कारण उनीहरु आजित बनेका छन् ।

यस बर्ष कम बर्षा भएका कारण क्षति भएको छैन तर पनि उनीहरुले क्षति न्यूनिकरणको प्रयासलाई भने जारी राखेका छन् । ५ बर्ष अगाडिदेखि सो वस्तीमा घर बनाएर परिवारसँगै बस्दै आएका लिलाबहादुर विश्वकर्माले बर्षाद्को समयमा खोलामा बाढी बढ्दा खोलाले क्षति पुर्‍याउने हो कि भन्ने त्रासले नसुत्ने गरेको स्थानीय लिलाबहादुर विश्वकर्मा दुखेसो पोख्छन् ।

उनीमात्र हैन यो वस्तीमा भएका ६२ घर परिवारको अवस्था उही छ । बर्षाद्को समयमा बर्षेनी पुर्‍याउने क्षति न्यूनिकरणका लागि सम्बन्धित निकायमा उनीहरु धेरै धाए तर कही कतैबाट सहयोग प्राप्त नभएपछि अहिले विगतको जस्तो क्षति नहोस् भनेर सहयोग उठाउदै आफै जनश्रमदान गर्दै सम्भावित क्षति न्यूनिकरणका लागि तारजाली लगाएर बस्ती जोगाउने अभियानमा लागेका छन् ।

विगतमा यो बस्तीमा १५ घर बगाएको स्थानीयहरु स्मरण गर्न पनि चाहँदैनन् । त्यो घटना फेरि नदोहोरियोस भन्ने कामना उनीहरु गर्छन् । त्यसबेला एक सुत्केरी महिला समेत बाढीबाट प्रभावित भइन् ।

खोला नियन्त्रणका लागि बर्षेनी खोलामा तटबन्ध लगाउँछन तर दीर्घकालीन समाधान नभएकै कारण खोलाले धार परिवर्तन गरेर क्षति पुर्‍याउन भने छाड्दैन । केही बर्ष अगाडि बस्तीबासीले दिनको १ रुपैया उठाएर एक लाख जम्मा गरे ।

नेपाल सुकुम्बासी बस्ती संरक्षण समाज र लुमन्ती भन्ने संस्थाले पहल गरेर एक बर्ष धाएपछि मात्र धरान उपमनगरपालिकाले ३ लाख उपलब्ध गरायो भने अन्य सहयोगी संस्थाल २ लाख रुपैया उपलब्ध गराएपछि अस्थायी तटबन्ध बनाए ।

तर त्यो तटबन्ध खोलामा आएको बाढीले क्षणभरमै लगिदिएपछि उनीहरुले लगाएको तटबन्धनको नामोनिसान छैन ।

अहिले पुन: विगतको जस्तो क्षति नहोस् भनेर क्षति न्यूनिकरणका लागि तटबन्ध बनाउने कामलाई तिब्रता दिएको स्थानीय अनिल चौधरी बताउँछन् ।

यो बर्ष कम बर्षा भएकै कारण यो वस्तीका सर्वसाधारणले ठूलो क्षति व्यहोर्नु परेको छैन । तर बर्षाद्को समय अझै रहेका कारण क्षतिको सम्भावना भने टरेर गएको छैन । यो टोलमा नम्बरी जग्गा र सुकुम्बासी जग्गा रहेका छन् ।

धरानमा प्रतिष्ठित भनिएका व्यक्तिहरुको पनि यस क्षेत्रमा जग्गा रहेको छ तर उनीहरुले कहिल्यै पनि खेला नियन्त्रणका लागि चासो नदेखाएको स्थानीयहरु बताउँछन् ।

पछिल्लो समय उनीहरुले अखिल नेपाल फुटबल संघ –एन्फा) का मानार्थ उपाध्यक्ष किशोर राईबाट ५, व्यापारी व्यवसायी नरेश अग्रवालबाट ४, गायक सपन श्रेष्ठबाट २  थान जाली प्राप्त भएपछि खोला नियन्त्रणका लागि ढुगा संकलनसँगै जनश्रमदान शुरु गरेको स्थानीय विवेक राई बताउछन् ।


विगतमा ठकुरी खोला सानो खोल्सो भएको स्थानीयहरु बताउँछन् । तर बर्षेनी आएको बाढीले यसको आकार बढाउदै लगेको छ ।

धेरै जग्गाहरु क्टान गरेको छ । कतिपयको जग्गा अहिले खोलाभित्र पर्ने गरेको स्थानीयहरु बताउँछन् ।

बर्षेनी बाढीले कटान गर्दै जाँदा धनजनको क्षति व्यहोर्दै आएका सर्वसाधारणहरु बर्षाद्को समयमा रातमा न राम्ररी निदाउन पाएका छन् न त राम्ररी खान नै पाएका छन् ।

ठकुरी खोलामा पक्की पुल बनेको छ । यो पुलले धरान र चतरा जोडेको छ । पुल निर्माणले आवात जावतमा सहज भएपनि डाँफे टोलका बासिन्दाहरुले आनन्द महसुस कहिल्यै पाउन सकेका छैनन्  ।