धरान/ धरानमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले श्रम संस्कतिको विकास गरेपछि वडाहरुले यसको अनुशरण गरेका छन् ।
मेयर साम्पाङले शनिवारलाई श्रमबार घोषणा गरेर जलाधार क्षेत्रमा वृक्षरोपण गर्ने, खानेपानीको मुहान संरक्षण गर्ने लगायतका धेरै कामहरु गर्दै आउनु भएको छ ।
यसै अनुरुप धरान उपमहानगरपालिका वडा नं. १४ ले पनि शनिवारलाई श्रमबार घोषणा गरेर आफ्ना वडामा रहेका मठमन्दिर, जलाधार क्षेत्रको संरक्षणमा लागेको हो ।
गत शनिवारबाट वडाले धरान १४ मा रहेका जलाधार क्षेत्रको संरक्षण अभियान शुरु गरेको छ ।
गत हप्ताको शनिवार धरान १४ मा रहेका सेउती खोलामा तटबन्धन लगाउने कामबाट शुरु गरेको यो अभियान यो हप्ता भने खानेपानीको मुहान सरसफाइ गर्ने काम गरेको हो ।
उनीहरुले विजयपुरमा तीनधारेको खानेपानी मुहान सरसफाइसँगै आवश्यक अनुसारको बोट विरुवा रोपेका हुन् ।
वडाले वडामा रहेका १२ वटा टिएलओ, विजयपुर जलाधार तीनधारे खानेपानी उपभोक्ता समतिसँग सहकार्य गरेर संरक्षणको काम शुरु गरेको हो ।
तीनधारे हिउँदको समयमा धरानमा चरम खानेपानी अभाव हुदा धरानेहरुको लागि खानेपानीको आपूर्ति गर्ने मुहानको रुपमा लिएको छ । अभावका समयमा धरानका अधिकांश वडाले यहाँबाट पानी बाकेर पिउने गर्छन् ।
खानेपानी लिन आउने, नुहाउन आउनेहरुले जथाभावि फोहोर गरेर जाने तर सरसफाइ नगर्ने गरेकाले यसको संरक्षणमा लाग्न वडा सदस्य झर्ना मुखिया पौडेलले अनुरोध गरिन् ।
प्रकृतिले दिएको कुरालाई संरक्षण गर्न नसक्दा मासिदै जाने खतरा बढेकोले यसको संरक्षणका लागि पनि सबैसँग मिलेर श्रमदान थालिएको धरान उपमहानगरपालिकाका वडा नं। १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई बताउछन् ।
उनले तीनधारेको पानी १४ नं.वडाबासीले भन्दा पनि अन्य वडाले बढी प्रयोग गर्ने भएकोले यसको संरक्षणका लागि वृक्षारोपण गर्ने र अनावश्यक झार तथा रुखहरुको व्यवस्थापन गरिएको बताए ।
विगतमा मठ मन्दिरको सरसफाइमा केन्द्रित जनश्रमदान अहिले जलाधार क्षेत्रको संरक्षणमा केन्द्रित भएको छ ।
जनश्रमदान उचित कार्यका लागि प्रयोग गरेको खण्डमा यसले सार्थकता पाउने बुझेरै वडा कार्यालय त्यसतर्फ केन्द्रित भएको पाइएको हो ।