तेह्रथुम/  पछिल्लो समय स्थानीय सरकारले श्रम संस्कृतिको विकास गर्दै लगेका छन् ।

कतिपय स्थानीय तहले श्रम संस्कृतिको नाममा प्रचारबाजी बढी गरेका छन् भने कतिपय स्थानीय तहले प्रचारबाजी भन्दा कामलाई बढी प्राथमिकता दिँदै आएका छन् ।

यसको पछिल्लो उदाहरणको रुपमा तेह्रथुमको लाली गुराँस नगरपालिका । नगरपालिकाले हरेक काममा २५ प्रतिशत श्रमदान अनिवार्य गर्नुपर्ने प्रावधान ल्याएको छ ।

laligurash-nagar

सडक निर्माण, कुलो निर्माण लगायतका भौतिक संरचना निर्माणमा स्थानीयहरुले २५ प्रतिशत श्रमदान गर्नै पर्ने प्रावधान अगाडि ल्याइएको लाली गुरास नगरपालिकाका मेयर अर्जुनबाबु मावुहाङ बताउँछन् ।

उनी भन्छन्–‘हामी प्रचार गर्दैनौ, यहाँ धेरै श्रमदान हुन्छ, थोरै काम गरेर प्रचारबाजी गर्नेहरुको मात्र चर्चा छ ।’

हतुवागढी गाउँपालिकामा महिनाको एक दिन श्रमदान अनिवार्य 

hatuwagadi

यस्तै गरी भोजपुरको हतुवागढी गाउँपालिकाको पर्यटकीय क्षेत्रमा लालीगुँरासहित चार सय बढी बिरुवा श्रमदानबाट रोपिएको छ ।

गाउँपालिकास्तरीय श्रमदान अभियान सञ्चालन गरेर घोडेटार, जोर आहाल संगाम, दिमालुङ निर्माणाधीन पैदलमार्गमा लालीगुँरास, धुपीलगायतका चार सय ५० बिरुवा रोपिएको हो ।

गाउँपालिकाले प्रत्येक महिनाको एक दिन श्रमदान अनिवार्य गर्नुपर्ने प्रावधान अगाडि बढाएको छ ।

गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले गाउँपालिकाको कार्यपालिका बैठकबाट नै प्रत्येक वडा वडामा महिनामा एक दिन श्रमदान गर्न निर्णय गरेर अगाडि बढेको बताए ।

उनले भने–‘हामीले सबै वडाले महिनामा एक पटक श्रमदान गर्नुपर्ने निर्णय गरेका छौं, यो निर्णयसँगै अब वडाहरूले पनि महिनामा एक दिन श्रमदानको कार्यक्रम सञ्चालन गर्नुपर्छ ।

उनका अनुसार श्रमदान सञ्चालन गरेर यस गाउँपालिकामा रहेका पर्यटकीय क्षेममा विरुवा रोप्ने काम अगाडि बढाएको छ । यसलाई निरन्तता दिने अध्यक्ष राईले बताए ।

विशेष गरेर पैदलमार्गलाई लक्षित गरी वृक्षारोपण शुरु गरेको बताए । उनले भने–‘

हामीले पैदलमार्गमा पर्यटकलाई आकर्षित गर्ने खालका बिरुवा रोपिएका छौं, यसल पर्यटन प्रवद्र्धनमा धेरै सहयोग पुग्छ भन्ने लागेको छ ।’

 गाउँपाललिकाले घोडेटार, जोर आहाल सगाम, दिमालुङ पैदलमार्गलाई गौरवको योजनाका रूपमा अगाडि बढाएको छ । पर्यटकलाई लक्षित गरेर विभिन्न जातका विरुवाहरु रोपिएको छ ।

पदमार्गलाई वडा नं ३ मा करिब १४ रोपनी क्षेत्रमा निर्माण भइरहेको दिमालुङ स्मारक उद्यान र त्यही नजिकै वडा नं २ मा रहेको करिब ६० रोपनी क्षेत्रमा निर्माण भएको दिमालुङ उद्यानसम्म विस्तार गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।

दिमालुङ स्मारक उद्यान र दिमालुङ उद्यानलाई गाउँपालिकाको योजना र प्रदेश सरकार तथा गाउँपालिकाको रु दुई करोड १३ लाख लागतमा संरक्षण तथा विकास गरिएको अध्यक्ष राईको भनाइ छ ।