धरान / धरान उपमहानगरपालिका वडा नं. १४ ले भने सचेतानात्मक कार्यक्रमसँगै आफ्ना वडाका विरामीहरुलाई निःशुल्क उपचारको व्यवस्था गरिदिएको छ ।
धरानमा डेंगु संक्रमणको अवस्था विकराल हुदै गएको छ । स्थानीय सरकारले यसको नियन्त्रणका लागि लार्भा नष्ट गर्ने, धुवा फाल्ने बाहेक अर्काे काम गर्न सकेको छैन ।
धरानमा डेंगु संक्रमण नियन्त्रण भन्दा बाहिर गएको छ । अहिले धरानमा २ हजार भन्दा बढी संक्रमित भइसकेका छन् भने ७ जनाले डेंगुकै कारण ज्यान गुमाउनु परेको छ ।
यस्तो अवस्थामा स्थानीय सरकारले नियन्त्रणको प्रयास भन्दा आफ्ना नागरिकलाई सहज रुपमा उपचार गर्ने कुरामा भने ध्यान दिएको छैन ।
तर धरान १४ वडा समितिले भने आफ्नो वडामा भएका संक्रमितलाई धरान १४ को आधारभूत स्वास्थ्य केन्द्रले विजयपुर चौकमा रहेको विजयपुर मेडिकल हलसँग समन्वय गरेर निशुल्क उपचार थालेको छ ।
१४ नं. वडाले वडाबासीको घर घरमा मात्र हैन विद्यालय केन्द्रित लार्भा नष्ट गर्ने र सचेतनात्मक कार्यक्रमलाई अगाडि बढाएको छ ।
धरान १४ दन्तकाली मावि वरिपरि रहेको लार्भा नष्ट गर्ने र विद्यार्थीहरुलाई सचेतनात्मक कार्यक्रम गरेको हो ।
डेंगु संक्रमणबाट बच्ने उपायका विषयमा जानकारी लिएका विद्यार्थीहरुले आफू पनि डंगुबाट बच्ने उपायमा सचेत रहने र घर घरमा र टोलटोलमा गएर सबैलाई भन्ने बताएका थिए ।
विद्यार्थीहरुलाई डेंगु संक्रमणबाट बच्ने उपायका विषयमा जानकारी दिँदा प्रभावकारी हुने भएकोले विद्यालयमा गएर सचेतनात्मक कार्यक्रम गरिएको आधारभूत स्वास्थ्य केन्द्रकी प्रमुख युनिसा खत्रीले बताइन् ।
उनले केन्द्रले वडामा भएका संक्रमित विरामीहरुलाई विजयपुर मेडिकल हलसँग समन्वय गरेर निःशुल्क उपचारको व्यवस्था गरिएको बताइन् । अहिले पनि ७ जनाले उपचार गराइरहेको उनको भनाई छ
डेंगु सक्रमित विरामलाई सहज होस् भन्ने उद्देश्यले निःशुल्क उपचारको व्यवस्था मिलाइएको वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बतए ।
उनले डेंगु संक्रमित भएको कुनै प्रमाण वडाबासीमा पाइएमा उनीहरुलाई निःशुल्क स्वास्थ्य उपचार गरिदिन विजयपुर मेडिकल हलसँग समन्वय गरेर उपचारको व्यवस्था गरिएको बताए ।