धरान । आर्थिक लेनदेनको विषयलाई लिएर धरानमा एक महिलाको हत्या भएको छ ।इटहरी २ स्थित बसन्त टोलकी अन्दाजी ४४ बर्षिय यशोदा श्रेष्ठको धरानमा हत्या भएको हो । 

उनको धरान –१७ मा बसोबास गर्दै आएका टेकबहादुर दर्जीले हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार बुधबार राती उनको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आरोपी टेकबहादुर रामेछापका स्थायी बासिन्दा भएको र उनी सवारी चालक भएको अनुसन्धानबाट खुलेको छ । उनीहरुविचमा आर्थिक लेनदेनको विबाद रहेको र त्यसै क्रममा कुरा नमिलेपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले जनाएको छ ।

हत्या गरेर दर्जीले शव लुकाउने, दबाउने प्रयास गरेको समेत पाइएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी नवराज मल्लले जानकारी दिए ।हत्या गरेर शब पोको पारी डोकोमा राखेर अन्यत्रै लैजान खोज्दै गरेको अबस्थामा टेकबहादुरलाई प्रहरीले पक्राउ गरेको हो । ‘हामीलाई पिडिकका आफन्तले नै खबर गरेका कारण शब अन्यत्र लैजानु अगावै पक्राउ गरिएको छ’ मल्लले भने ।

प्रहरी स्रोतका अनुसार आरोपी टेकबाहादुरले हत्या गरेको स्वीकार गरेका छन् । प्रहरी स्रोतका अनुसार आरोपी टेकबहादुरले  ‘सुरुमा मुड्कीले टाउकोमा हानेको र भुईमा ,लडेपछि फेरी पनि टाउको मै हानेर बेहोस भएपछि छोडेको ’ स्वीकार गरेका छन् ।महिलाको शब अहिले पोस्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।