इलाम/ एक दशक अघिसम्म गाउँगाउँमा आरा लगाएर काठ काट्ने धरान र आरावाल प्रसस्तै पाइन्थ्यो । ग्रामीण क्षेत्रमा निर्माण हुने घर, विद्यालय तथा अन्य भवन निर्माणका लागि आवश्यक काठ चिरानी गर्ने आरावाल धरान नभई हुदैनथ्यो ।
परम्परागत रूपमा काठ चिरानी गर्दै आएको आराको प्रयोग यतिबेला पछिल्लो पुस्ताले अनौठो मान्ने अवस्थामा छ ।
गाउँका कुना कन्दरामा कहिँ कतै पाईएपनि कम मात्रामा हुने गरेका छन् । आधुनिक प्रविधिसँगै काठ चिर्ने मेसिनको प्रयोगले परम्परा मासिँदै जान थालेको छ ।
डिजेल, पेट्रोलबाट चल्ने र काठ चिर्न नयाँ प्रविधिको विकास सँगै आरा लोप बनेको हो । परम्परगत रूपमा चलाउँदै आएका आराबाट काठ चिरानी गर्न कठिन हुनुका साथै समयपनि धेरै लाग्ने भएको हुँदा आधुनिक प्रविधिले पिटेको पाईन्छ ।
आधुनिक प्रविधि छिटो र छरितो भएपनि ग्रामिण सबैठाउँमा पहुँच नपुग्दा कहिँ कतै भने परम्परागत धराननै भेट्ने गरिन्छ ।
इलामको माईनगरपालिकामा पर्ने विहिबारेमा परम्परागत धरानमा काठ काट्दै गरेका आरावाल अहिलेका केटाहेरले यस्तो धरानमा काठ काट्न नसक्ने बताउँछन ।
आधुनिक प्रविधिको विकासले परम्परागत पेशा गर्दै आएका हामीजस्ता पहिलो पुस्तालाई भने समस्या भएको छ, आरावाल बताउँछ ।
मेसिन किन्ने हैसियत र सीप पनि नभएकाले परम्परागत रूपमा काठ चिरानी गर्दै आएका पहिलो पुस्ता रोजगार नै गुम्दै गएको दुखेसो गर्छन ।
सहज र सजिलो मात्र नभई सस्तो मूल्यमै आधुनिक प्रविधिबाट काठ चिरानी हुने गरेकाले परम्परागत मेसिनको प्रयोगमा कमै हुँदै गएको बताउँछन ।
पहिले इलामका ग्रामिण भेगमा पाँचथरे आरावालले काठ राम्रो र छिटो काट्ने भनेर प्रयोग गर्ने चलन थियो । खेतीपातिको समयमा घर जाने र अरु समय काठकाट्ने रोजगारीको खोजीमा जाने गरेको पाईन्थ्यो ।
काठ चिरानीकै लागि भारतको आसाम, दार्जिलिङ, सिक्किम लगायतका स्थानमा पुग्ने गरेका थिए ।
विभिन्न भूभागमा पुग्दै काठ चिरानी गर्दै रोगजार बनेका युवा पछिल्लो समय प्रविधिको विकाससँगै आधुनिक मेसिनको प्रयोगतर्फ लाग्न थालेका छन ।
केही वर्ष अघिसम्म फाटफुट फर्निचर उद्योगमा मात्र देखिने विद्युतीय मेसिन हिजोआज जताततै देखिन थालेका छन । कम समयमै धेरैभन्दा धेरै रूख लडाउन र काठ काट्न सकिने भएकाले यसको प्रयोग बढ्न थालेको छ ।
आइडिल, होन्डा, स्टिहल लगायतका चेइन–श मेसिनहरू प्रयोगमा आउन थालेपछि रूखको आकार हेरेर १५ सेकेन्डदेखि बढीमा २ मिनेटसम्ममा रूख काट्न सकिने हुँदा पनि आधुनिक प्रविधिको प्रयोग बढ्न थालेको पाईन्छ ।
काठको धरान बाट काठ चिरान गर्न दुईजनाको जनशक्ति महिनौ खट्नु पर्ने हुन्थ्यो । तर मेसिनको प्रयोग हुन थालेपछि ३ देखि ४ दिनमा एकजनाले एउटा घरलाई पुग्नेगरीको काठ चिर्न सक्ने भएको कारण पनि काठेधरान लोप हुनथालेको जानकार बताउँछन ।
काठ काट्नका लागि धरान बनाउन मात्रै चिरानी रूख बाहेक ५ देखि ७ वटा रूखको आवश्यकता पर्ने गरेको थियो ।
तर आधुनिक प्रविधिले जुन काठ चिर्ने हो त्यसलाई मात्र काटेर प्रयोग गर्न सकिने भएकोहुँदा आधुनिक प्रविधि प्रयोग हुन थालेको पाईन्छ ।
आधुनिक प्रविधिले काठे धरान मात्र होईन परम्परागत रुपमा प्रयोग भएका ढिकि, जाँतो, पानि, घट्टा, काठे कोल लगाएतका वस्तु लोग हुन थालेका छन ।
आधुनिकता सँगै परम्परागत प्रविधिलाई संरक्षण गर्नु सके पछिल्लो पुस्ताले पनि सिक्ने अवसर पाउने थियो ।