धरान/ धरान १४ विजयपुरमा करिब ३ सय बर्ष पुरानो मानिएको गणेश भीमसेन मन्दिरको संरक्षणमा लागेको गणेश भीमसेन गुठी संरक्षण समतिले स्थानीय सर्वसाधारणको आखाको समस्यालाई मध्यनजर गरी निःशुल्क आँखा शिविरको आयोजना गरेको छ ।

पुराना मन्दिरलाई संरक्षण गर्दै आएको समितिले समय समयमा सामाजिक सेवा समेत गर्दै आएको छ । यसै क्रममा धरान १४ विजयपुरमा रहेका सबै उमेर समुदायलाई लक्षित गरी मन्दिर अगाडि निःशुल्क आँखा शिविरको आयोजना गरेको हो ।

समितिलाई धरान १२ मा रहेको सूर्य आई केयरले परीक्षणका लागि सहयोग गरेको छ । परीक्षणमा आँखामा समस्या भएका सबै उमेरका सर्वसाधारणको उपस्थिति रहेका सूर्य आई केयर धरान १२ की चिकित्सक डा.इच्छा जोशी सोनीले बताइन् ।

उनले चेकजाँच गरिएकामध्ये धेरैलाई मोतियाविन्दु भएको पाइएको बताउदै आँखा पाक्ने रोगबाट ग्रसित हुनेहरु समेत शिविरमा उपचार गराउन आएको बताइन् ।

विशेष गरी बृद्ध अवस्था र दीर्घरोगी मधुमेह उच्च रक्तचाप हुनेहरुलाई मोतिया विन्दुको  समस्या बढी हुने भएकोले यस्ता विरामीले समय समयमा आँखाको परीक्षण गरिरहनुपर्ने सुझाव दिइन् ।

बृद्धा अवस्था भएका र आर्थिक अभावका कारण उपचार गराउन नसकेकाहरुलाई लक्षित गरी आँखा शिविर राखिएको गणेश भिमसेन गुठी संरक्षण समितिका अध्यक्ष बसन्त श्रेष्ठले बताए ।

उपचारका क्रममा आँखा पाकेर समस्या भएकाहरुलाई औषधि उपचार गरिएको थियो भने मोतिया विन्दु भएका विरामीलाई सूर्य आइकेयरले समन्वय गरेर शल्यक्रिया गर्ने समितिले जनाएको छ । शिविरमा १ सय १५ जनाको आँखा चेकजाँच गरिएको आयोजकले जनाएको छ ।