इलाम/ इलाम अस्पतालमा बेडको अभाव भएपछि अस्पतालले भुईमा सुताएर उपचार गरिरहेको छ । 

पछिल्लो समय इलाम अस्पतालमा डेङ्गु, ज्वरो र स्कपटाइफसका बिरामी बढेपछि बेड अभाव हुँदा भुईमा सुताएर उपचार भईरहेको हो ।

अस्पतालमा दैनिकजसो ७० देखि ८० जनाको सङ्ख्यामा इमरजेन्सीमा बिरामीहरू आउने गरेको इलाम अस्पताल इमरजेन्सी इन्चार्ज टिका लुईटेलले बताए ।

डेङ्गु, स्कपसाइफस र भाइरल ज्वरोका बिरामीको चाप रहेको कारण अस्पतालमा बेडको अभाव भएको छ ।

‘जीउ दुख्ने, हातखुट्टा करकर खाने, आँखाका दाना दुख्ने, प्रेसर कम हुने, ज्वरो अत्यधिक आउने लक्षणहरू भएका बिरामीलाई अस्पतालमा राखेरै उपचार गर्नुपर्ने अवस्थाका बिरामीलाई भुईँमै भए पनि उपचार गरिरहेको अस्पतालले जनाएको छ ।  

अस्पतालको ओपिडीमा पनि दैनिक तीन सय ७५ जनासम्म बिरामी आउने गरेको इलाम अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले बताए ।

‘इमरजेन्सीमा जम्मा ११ वटा मात्र बेड छन्, इमरजेन्सीमै आएका बिरामीलाई बेड नपुगेपछि भुईँमै राखेर पनि सेवा दिइएको छ’ उनले भने, ‘ओपिडीमा पनि बिरामीको संख्या बढेको कारण जसोतसो धान्नु परेको छ ।’ 

गत साउन महिना र भदौ १० गते सम्ममा जाँच गराउने आउने मध्ये ४१ जनामा डेङ्गु पुष्टि भएको छ । सोही अवधिमा २४ जनामा स्कपटाइफस देखिएको छ ।

यीमध्ये डेङ्गुका १० जना र स्कपटाइफसका पाँच जना बिरामी भने अस्पतालमै भर्ना भएर उपचार गराएका छन् । जिल्लामा अहिलेसम्म दुई सय तीन जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।