धरान/  गत शनिबार (भदौ २३) यहाँ कवि–साहित्यकारहरूको लोभलाग्दो जमघट थियो ।

यो संयोग जुराएको थियो, कलरव धरानले र सन्दर्भ थियो, कवि सन्तोष थेबेको दोस्रो कविताकृति ‘स्मृतिको पुरानो दह’ को लोकार्पण समारोह ।

पछिल्लो समय अमेरिकामा बसोवास गरिरहेका थेबे आप्mनो काव्यकृति विमोचनकै लागि केही दिनअगि गृहनगर धरान आइपुगेका हुन् ।

थेबेका कविताहरू निकै सुन्दर र कोमल भएको धारणा कवि बम देवानले राखे ।

कृष्ण पाख्रिन स्मृति प्रतिष्ठानले प्रकाशन गरेको थेबेको नयाँ काव्यकृतिबारे अर्का कवि मनु मञ्जिलले बोले ।

उनले कवि थेबेलाई ‘छोटा कविताहरूका सिद्धहस्त कलाकार’ भन्न रुचाए ।

कविता लेखनका क्रममा आउने विचारको प्रवाहलाई नियन्त्रण गर्न कठिन हुने धारणा राख्दै कवि मनुले भने, ‘यो काम कलाकारले मात्र गर्न सक्छ र सन्तोषले यही काम सफलतापूर्वक गरेका छन् ।’ कार्यक्रममा थेबेका कविताबारे कवि कुन्ता शर्माले पनि बोलेकी थिइन् ।

धरान र यसवरपरका कवि–साहित्यकारहरूको उल्लेख्य उपस्थितिमा सम्पन्न कार्यक्रममा कवि थेबेले पनि आप्mना धारणा राख्दै सङ्ग्रहभित्रको उउटा कविता वाचन गरेका थिए ।

यसैगरी कविहरू हेमन यात्री, करुणा राई र बिरेन सुब्बाले पनि सङ्ग्रहभित्रका कविताहरू वाचन गरेका थिए ।