धरान/  बजार क्षेत्रमै अत्यन्तै व्यस्त र सवारी साधनहरुको चाप हुने सडकमा पर्छ धरान उपमहानगरपालिकाको वडा नम्बर ९ को सिद्धि विनायक पथ । सवारी साधनको बढी चहलपहल हुने मार्ग निर्माण भएको ४ महिनामै भत्किन थालेको छ । 

गत वैशाख महिनामा कालोपत्रे गरिएको सडक भत्कन थाले पछि खाल्डाखुल्डी पर्न थालेका छन् भने सडकमा लगाएका गिट्टी निस्कन थालेको छ । सडकका ठाउँठाउँमा खाल्डो पर्ने, धुलो र गिट्टि निस्कन थाले पछि आवागमनमा असहज भएको स्थानीय सुमिप श्रेष्ठ बताउँछन् ।

सिद्धि विनायक पथ बाटो पुतली लाईन र आचार्य लाईनलाई जोड्ने मुख्य सडक हो ।  

कालोपत्रे भएको सडक ४ महीनामै भत्किन थाले पनि यात्रुहरुलाई पनि असहज बन्दै गएको छ भने खाल्डाखुल्डी हुने, पानी जम्ने र धूलो उड्ने समस्या दोहोरिएको छ । कालोपत्रे बने पछि खुशी भएका स्थानीय तथा यात्रु फेरि समस्यामा पर्न थालेका छन् ।

  ४ महिना नबित्दै सडक भत्किन थाले पछि दुर्घटनाको समेत जोखिम बढ्दै गएको स्थानीयको भनाई छ । स्थानीयका अनुसार केही दिन अघि सडकमा गिट्टीको कारणले स्कुटर दुर्घटना भएको थियो । स्कुटर चालकलाई सामान्य चोट लागेको थियो ।

पछिल्लो समय सडकमा धेरै बाइक स्कुटरहरु गिट्टीमा चिप्लिएर दुर्घटनामा पर्ने गरेका छन् । 

धरान उपमहानगरपालिकाको एक वडा एक पुर्वाधार कार्यक्रम अनुसार वडा नं ९ ले  ५ लाख रुपैयाँमा बैशाख महिनामा ठेकेदार सिताराम तामाङलाइ सडक कालोपत्रे गर्न दिईएको थियो ।

धरान उपमहानगरपालिका वडा नं ९ का अध्यक्ष रुपेश आचार्यका अनुसार निर्माण भएको सडक कालोपत्रे गरिएको केही समयमै भत्किएको विषयमा गम्भीर भएको बताए ।

उनले पानी रोकिए पछि सडकलाई पुनः निर्माण गरिने र भत्किएको सडक निर्माण व्यवसायीले बनाउने प्रतिबद्धता जनाएको बताए ।

सडक कालोपत्रे गर्ने क्रममा धरान उपमहानगरपालिकाका उपप्रमुख आईन्द्र बिक्रम बेघाले समेत अनुगमन गरेका थिए ।

अनुगमन गर्ने क्रममा उपमेयर बेघाले ९ नं वडाका अध्यक्ष रुपेश आचार्यलाई गुणस्तरीय नभएको र ठाउँठाउँमा राम्रो पिच नभएको बताएका थिए । वडाध्यक्षले पनि सुधार गर्ने समेत प्रतिबद्धता जनाएको उपमेयरका सचिवालयले जनाएको छ । 

वार्षिक बजेट फ्रिज हुने अवश्थामा हतारोमा गरिएको कामले लगानी खेर गएको स्थानीयको आरोप छ ।

बजेट सक्न मात्रै गरिएको जस्तो भएको उनीहरु बताउँछन् । ठेकेदारले पनि गुणस्तरिय सामान प्रयोग नगर्दा कमसल सडक निर्माण भएको उनीहरुको गुनासो छ ।