भोजपुर/ टेम्कमैयुङ गाउँपालिकामा रहेको महभिर झरना पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ।
गाउँपालिकाले विकास तथा संरक्षणमा ध्यान दिएसँगै यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटक सङ्ख्याको वृद्धि हुन थालेको हो।
भोजपुर सदरमुकामबाट करिब २९ किलोमिटर र गाउँपालिका केन्द्रबाट करिब साढे चार किलोमिटर पश्चिममा अवस्थित यो झरनामा बाह्रै महिना पानी उत्तिकै मात्रामा बग्ने गर्दछ।
सडकको सहज पहुच भएसँगै पर्यटकको आगमन बढेको स्थानीयवासीको भनाइ छ। झरनाबाट झरेको पानीको फोहोराले पर्यटकको मनै लोभ्याउने गरेको छ। दैनिक दर्जनाै मानिस झरनामा रमाइलो गर्न पुग्ने गरेको स्थानीयवासीको भनाइ छ।
झरनाको अझ प्रचार–प्रसारसँगै आवश्यक पूर्वाधारको विकास गर्नसके गाउँपालिकालाई आर्थिक स्रोत विकासमा टेवा पुग्ने स्थानीयवासी बुद्धप्रसाद राईले बताए। विषेशगरेर गर्मीको समयमा धेरै पर्यटकको जमघट हुने उहाँको भनाइ छ ।
शनिबार र अन्य बिदाको समयमा मानिस विभिन्न ठाउँबाट घुम्न आउने गरेको उनले जानकारी दिए।
‘महभिर झरनामा पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ,’ उनले भने, ‘दैनिकजसो दजनौँ मानिस आउने गरेका छन्।
यसलाई अझ प्रचार–प्रचारमा ध्यान दिन सक्ने हो भने गाउँपालिकाको राम्रो आर्थिक स्रोत बन्न सक्छ।’
भोजपुर र खोटाङको सदरमुकाम दिक्तेल जोड्ने मध्यपहाडी लोकमार्ग यही क्षेत्र भएर विस्तार भएकाले झरना हेर्ने मानिसको सङ्ख्यामा वृद्धि भएको स्थानीयवासी राईको भनाइ छ।
झरना मुख्य राजमार्गबाट करिब साढे दुई किलोमिटरभित्र रहेको छ। यो क्षेत्र भएर यात्रा गर्ने मानिस प्रायः झरनाको अवलोकन गर्न जाने गरेका छन्।
गाउँपालिकाको वडा नं ४ नागीमा रहेको यो झरना ६० मिटर अग्लो छ।
विगतका वर्षमा भिरमौरी बस्ने भएकाले यो झरनाको नाम नै महभिर झर्ना रहेको स्थानीयले बताउने गरेका छन्। बाह्रै महिना भिरको छाँगोबाट झर्ने पानीले पर्यटकको मन लोभ्याउने गरेको छ। खास गरेर यहाँ गर्मीको समयमा बढी मानिस झरनाको मज्जा लिन पुग्ने गरेका छन्।
गाउँपालिकाले यहाँ पुग्ने बाटोको विस्तारसँगै झरना वरिपरि पर्यटकलाई लक्षित गरेर आवश्यक संरचना निर्माणको काम गरिएको प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेले बताउनुभयो।
यो झरना गाउँपालिकाको पर्यटकीय क्षेत्रका रूपमा स्थापित भएको उहाँको भनाइ छ।
‘महभिर झरना पर्यटकको रोजाइको पर्ने पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ,’ प्र्रशासकीय अधिकृत न्यौपानेले भने, ‘दैनिक दर्जनाँै मानिस पुग्ने गरेका छन्।
हामीले यसको विकास तथा संरक्षणमा ध्यान दिएका छौं। यसको थप विकास तथा विस्तारमा भावी दिनमा काम गर्ने योजना छ।’
महभिर झरनालाई पर्यटकीय क्षेत्रका रूपमा स्थापित गराउने उद्देश्यका साथ विकासको काम गरिरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताए।
झरनासम्म पुग्ने सडकलाई कोशी प्रदेशसँगको सहकार्यमा व्यवस्थित गर्ने काम भइरहेको उपाध्यक्ष राईले बताए। टेम्केमैयुङ प्राकृतिक स्रोत तथा पर्यटकीय क्षेत्रको धेरै सम्भवना भएको गाउँपालिका रहेकाले यसलाई पर्यटनसँग जोडेर अगाडि बढाउने उपाध्यक्ष राईले जानकारी दिएकाे खबर राससले प्रकाशित गरेको छ ।