इलाम/ तलब वितरणलाई पारदर्शी र जवाफदेही बनाउन विभिन्न सरकारी निकायहरुले आफ्ना कर्मचारीहरुको तलब सम्बन्धित कर्मचारीको बैंक खातामा सिधै जम्मा गरिदिने व्यवस्था लागू गरेको छ । 

संचितकोष व्यवस्थापन प्रणाली (सुत्र) अन्तरगत इलेक्ट्रोनिक्स फण्ड ट्रान्सफरमार्फत सरकारी निकायहरुले सम्बन्धित कर्मचारीलाई सिधै बैंक खातामा तलब हालिदिने व्यवस्था लागू गरेको छ ।

यो प्रणालीको कार्यान्वयन कतिपय सामुदायिक विद्यालयहरुले समेत ‍गर्ने गरेका छन् । विद्यालयले आफ्ना शिक्षक एवम् कर्मचारीलाई उनीहरुको बैंक खातामा सिधै रकम जम्मा गरिदिने गरेको छ ।

सुत्र कार्यान्वयन नगरेका विद्यालयहरुले समेत बैंकमार्फत सिधै सम्बन्धित शिक्षक र कर्मचारीहरुको बैंक खातामा तलब ट्रान्सफर गरिदिने गरेका छन् ।

सम्बन्धित व्यक्तिलाई नगद वा चेकमार्फत तलब भुक्तानी प्रक्रिया प्रायः बन्द गरिसकेका छन् ।

कतिपय स्थानीय तहले सम्बन्धित शिक्षक एवम् कर्मचारीको खातामा सिधै तलब हालिदिने व्यवस्था गरेका छन् भने कतिपयले विद्यालयको खातामा एकमुष्ठ हालिदिने गरेका छन् ।

स्थानीय तहले एकमुष्ठ विद्यालयको खातामा हालिदिएको तबल विद्यालयले सम्बन्धित शिक्षक एवम् कर्मचारीको बैंक खातामा हालिदिने गरेका छन् ।

विद्यालयले कुनैपनि शिक्षक र कर्मचारीलाई चेक वा नगदबाट तलब दिने गरेको छैन । तर, इलामका एक विद्यालयका प्रधानाध्यापकले तलब वितरणमा मनपरी गर्ने गरेको पाईएको छ ।

जिल्लाको माई नगरपालिका–१ सुन्धुवास्थित युवावर्ष माध्यमिक विद्यालयका प्रधानाध्यापक सागर लिम्बूले विद्यालयका कर्मचारी (लेखा) सँगको मिलेमतोमा मनपरी तलब वितरण गर्ने गरेको पाईएको हो ।

अन्य सबै शिक्षक र कर्मचारीलाई तलब बुझ्नका लागि बैंक खाता अनिवार्य गरिएको छ । तर, प्रअ लिम्बूले आफू भने आफ्नै नाममा चेक काटेर तलब बुझेका छन् ।

गएको असारमा ३ महिनाको तलब अन्य शिक्षक र कर्मचारीको बैंक खातामा ट्रान्सफर गरी आफूले भने आफ्नै नाममा चेक काटेर तलब बुझेका हुन् ।

यसको कारण, अरु केही नभएर प्रअ लिम्बूको बैंक खाता राष्ट्र बैंकले कालोसूचीमा राखेपछि त्यसो गर्ने गरेको खुलेको छ । लिम्बूको बैंक खाता चेक बाउन्समा परेपछि राष्ट्र बैंकले निजको खाता कालोसूचिमा राखिदिएको हो ।

आफ्नो खाता कालोसूचीमा परेपछि लिम्बूले बैंक खातामा ट्रान्सफर नगरी आफ्नै नाममा चेक काटेरै भएपनि तलब खाने जुक्ति निकालेका हुन् ।

राष्ट्र बैंकले कालो सूचीमा राखेपछि खातामा रकम जम्मा भएपनि खाताबाट रकम निकाल्न भने मिल्दैन । सो कुरा थाहा पाएपछि लिम्बूले आफ्नै नाममा चेक काट्न नै उपयुक्त हुने तत्कालीन जुक्ति निकालेका हुन् ।  

विद्यालयका कर्मचारी महेन्द्र राई र प्रअ लिम्बूको संयुक्त दस्तखतमा विद्यालयको खाता संचालनमा छ ।

कर्मचारी महेन्द्र राईका अनुसार प्रअ लिम्बूले सुरुमा आफूले सो त्रैमासिकको तलब नखाने भन्दै आफ्नो खातामा नहाल्न अनुरोध गरेका थिए ।

तर, भोलिपल्ट आफ्नै नाममा चेक काट्न दवाव दिएको राईले बताए । ‘सुरुमा हेडसरले यो पटक तलब नखानुप¥यो, मेरो खातामा नहाल्नु भन्नुभयो,

त्यति भनेपछि म अचम्मित भएँ, उहाँकोमा बाहेक अरुको खातामा मात्र हालिदिएँ’ कर्मचारी राईले टेलिफोन सम्पर्कमा भने, ‘तर भोलिपल्ट हेडसरले बेरुजु आए आफैं व्यहोरुलाँ भन्दै तलब बराबरको चेक उहाँको व्यक्तिगत नाममा काट्न लगाउनुभयो, हेडसरले भनेपछि नमान्नपनि गाह्रो भयो, चेक काटिदिएँ ।’

यता प्रधानाध्यापकले आफ्नो बैंक खाता कालोसूचिमा परेर बन्द रहेको स्वीकार गरेका छन् ।

तर प्रअ र कर्मचारीको कुरा भने बाझिएको छ । प्रअ लिम्बूले अघिल्लो पटक आफूलाई थाहै नभई अर्कै खातामा ट्रान्सफर गरिदिएको जिकिर गरेका छन् ।

‘मेरो जापान जाने प्रक्रियाले गर्दा तलबी बैंक खाता बन्द छ, अघिल्लो पटक तलब कर्मचारी सरले मेरो अर्कै खातामा ट्रान्सफर गरिदिनुभएछ, यसपटक भने मेरो तलब नदिनु, विद्यालयकै खातामा राखिदिनु भनेको छु’ प्रधानाध्यापक लिम्बूले भने । प्रअ लिम्बूले कुन बैंकमा ट्रान्सफर गरेको भन्ने चाँही खुलाएनन् । यता कर्मचारी राईले अन्तिम पटकको टेलिफोन सम्पर्कमा भने फरक कुरा गरेका छन् ।

अघिल्लो पटक प्रअ लिम्बूलाई आफैंले चेक काटेर तलब दिएको बताएका कर्मचारी राईले पछिल्लो सम्पर्कमा चेक नदिएको जिकिर गरे ।

प्रअ लिम्बूलाई चेक नदिई अर्कै बैंक खातामा ट्रान्सफर गरिदिएको जिकिर गरेका राईले कुन बैंकमा ट्रान्सफर गरेको भन्ने चाँही खुलाउन सकेनन् ।

’खोई कुन बैंकमा ट्रान्सफर गरियो थाहा छैन, हेर्नुपर्छ’ कर्मचारी राईले भने, ’अहिले काममा व्यस्त छु हेर्न भ्याउँदिन ।

भरे सम्पर्क गर्नु’ यति भनेर फोन काटेका राईले त्यपछिको सम्पर्कमा भने फोन उठाएनन् । प्राथमिक तह स्थायी ६ जना, निमावी तह राहत ३ जना, मावि तह राहत १, संघीय अनुदान २ र प्रदेश अनुदान १ जना, कर्मचारी २ जना, सहयोगी कार्यकर्ता १ जना र सुरक्षा गार्ड १ जना कार्यरत छन् ।