धनकुटा/ दुग्ध उत्पादक कृषकका लागि दुग्ध एक मात्र मुख्य आम्दानीको स्रोत हो । उसले घर खर्च दूध बेचेकै आम्दानीले चलाएको हुन्छ । तर दूध खरिद गर्ने सरकारी सहित नीजि लामो समयदेखि दूधको रकम निकासी नगरिदिँदा चाडवाडको मुखमा कृषकहरु समस्यामा परेका छन् ।

धनकुटा नगरपालिका वडा नं. १ हिलेमा रहेको चञ्चलादेवी वहुउद्देश्यीय दुग्ध उत्पादक सहकारी संस्थाले नेपाल सरकार स्वमत्विको दुग्ध विकास संस्थानबाट ३८ लाख रुपैया भन्दा बढी रकम भुक्तानी पाउन बाँकी छ । संस्थाले चार महिना यताबाट भुक्तानी पाउन नसकेको् हो ।

दशैको मुखमा समेत भुक्तानी नपाउँदा कृषकलाई कहाँबाट भुक्तानी दिने भन्ने चिन्ता संस्थालाई थपिएको छ ।

सहकारीका व्यवस्थापक भीम मल्ल भन्छन््– डिडिसीको जेष्ठ असारको अन्तिमको पेमेन्ट भइसकेको छ, असार पहिलो, साउन दोस्रा्, भदौ पहिलो, भदौ दोस्रो असोज समेत गरी करिब ७ महिनाको भुक्तानी दिन बाँकी छ । ’ उनका अनुसार अहिलेसम्मको ३८ लाख ६५ हजार रुपैया सहकारीले भुक्तानी लिन बाँकी रहेको छ ।

यस्तै धनकुटाकै छथरजोरपाटी गाउँपालिका १ मा रहेको श्रीकृष्ण दुग्ध सहकारी संस्थाले पनि रकम भुक्तानी नपाएको चार महिना भइसकेको छ ।

सहकारीले दुग्ध विकास संस्थानबाट रकम नपाएपछि कृषकलाई चार महिनाको अवधिमा एक रुपैया पनि भुक्तानी दिन नसकिएको श्र्रीकृष्ण कृषि सहकारीले जनाएको छ ।

आफूले पाउने रकम माग्दा समेत संस्थानले आनाकानी गरेको छ । समयमै भुक्तानी नपाउँदा कृषक पशुपालन पेशाबाटै पलायन अवस्था आएको बताउँछन् ।

श्रीकृष्ण दुग्ध सहकारी संस्थाका अध्यक्ष भरत कार्की भन्छन् ‘हामीले पछिल्लो समय दुग्ध विकासको असार मसान्तदेखिको पेमेन्ट हाम्रो आएको छैन, लगभग चार महिना भयो ।’ उनका अनुसार भुक्तानी माग्दा संस्थाले प्रसोधित वस्तुको विक्री नभएर रकम नभएको बताउने गरेका छन् ।