ताप्लेजुङ/  ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा बडादशैँको अवधिमा २५ हजार भन्दा बढी भक्तजनले दर्शन गरेका छन् । दशैँको समय पाथीभरामा पूजापाठको उत्तम समय मानिन्छ ।  

नवरात्रदेखि कोजाग्रत पूर्णिमासम्ममा २५ हजार ६ सय ३८ जान भक्तजनले पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

क्षेत्र विकास समितिका अनुसार बडादशैँको अन्तिम दिन अर्थात् कोजाग्रत पूर्णिमाको दिन चार हजार ३ सय २२ जनाले दर्शनका छन् । pathibhara

दशैँ र तिहारका समयमा  पाथीभराको दर्शन गर्ने दर्शनार्थीको भीड लाग्ने गर्दछ । विगतदेखिकै परम्परा अनुसार नवरात्र यता पाथीभरामा भक्तजनको उल्लेख्य आगमन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

नवरात्रपछि दैनिक हजारौँ संख्यामा भक्तजनले पाथीभराको दर्शन गरिरहेको समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए ।

उनका अनुसार अधिकांश जिल्लाबाट पाथीभरा दर्शन गर्न भक्तजन आएका छन् ।

संघीय राजधानी काठमाडौं लगायतबाट समेत भक्तजन दर्शनमा आएका छन् । नेपाल बाहिर भारतको सिक्किम र दार्जिलिङ क्षेत्रबाट केही भक्तजन पाथीभराको दर्शनमा आएको समितिले जनाएको छ ।