सुनसरी/ गत कात्तिक २६ गते मोरङको उर्लाबारी ७ मा भएको आगलागीका पीडित घाइतेहरूको उपचार खर्च संघीय सरकारले व्यहोर्ने मुख्यमन्त्री केदार कार्कीले वचन दिएका छन् ।  

उनीहरुको कीर्तिपुर स्थित बर्न अस्पताल काठमान्डुमा उपचार भइरहेको छ । गत शनिवार अस्पताल पुगेर मुख्यमन्त्री कार्कीले पिडितहरुलाई सान्त्वना दिँदै उपचार खर्च सरकारले व्यहोर्ने जानकारी गराएका हुन ।

मुख्यमन्त्री कार्कीले भने, ‘कीर्तिपुर लगिएका घाइतेको उपचारको सबै प्रबन्ध संघीय सरकारबाट गरिने भएको छ ।

यसबारे म आफैले संघीय स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतसँग भेटघाट गरी उपचार प्रबन्धको जिम्मेवारी लिन आग्रह गरेँ । उहाँले सरकारले गर्ने भन्ने प्रतिबद्धता जनाउनु भयो ।’

मोरङको उर्लाबारीमा आगलागी हुँदा घाइते भएकाहरू मध्ये ६ जनाको अवस्था गम्भीर रहेको बर्न अस्पतालले जनाएको छ ।

दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चार प्रहरी सहित २८ जना घाइते भएका थिए ।

तीमध्ये २५ जनालाई नेपाली सेनाको विमान मार्फत काठमाडौँ लगिएको थियो । ती सबै झापाको बिएन्डसी अस्पतालबाट रेफर गरिएका घाइते हुन । मुख्यमन्त्री कार्कीका अनुसार तीन जनाको शल्यक्रिया भएको र अरूको थप उपचार भइरहेको छ ।

उनले भने ‘अमेरिकाबाट केही चिकित्सक उपचारमा सघाउनका लागि आउँदै हुनुहुन्छ ।’

आगलागीमा घाइते २५ जनालाई कोसी प्रदेश सरकारको समन्वयमा विराटनगर र झापाबाट सेनाको विमानमा राखेर लगिएको थियो ।