वारी है, खोला नी हौ पारी है खोला

बिचैमा दोभान हौ देशै रमाइलो

हासेर नी हौँ पनि, बोलेर नी हौँ

बिताउन जोवन, लङ्घा मजुले................

यो मगर जातिले मनाउने हुर्रा नाचको एक तुक्का हो । यो नाच मगर जातिहरुले पर्वको रुपमा मनाउदै आएका छन् ।

धरानमा समेत यो नाच बर्षेनी सामुहिक रुपमा मनाउदै आएका छ्न् । कोरोना संक्रमण लगायत विविध कारणले केही बर्ष गर्न नपाए पनि नेपाल मगर संघ, धरान नगर समितका आयोजनामा प्रत्येक बर्ष यो नाच गरिदै आएको छ ।

खासगरी यो नाच पश्चिम बागलुङ, गुल्मी, प्युठान, सल्यान, लमजुङ क्षेत्रमा बसोबास गर्ने मगर जातिको लोकप्रिय नृत्यका रुपमा कौडा नृत्यलाई लिन सकिन्छ भने पूर्वतिर धनकुट्टा, मोरङ, सङ्खुवासभा क्षेत्रमा बसोबास गर्ने अधिकांश मगर जातिमा लोकप्रिय नृत्यको रुपमा हुर्रा नाच महत्वपूर्ण संस्कृतिको रुपमा रहँदै आएको छ ।

यसलाई संंरक्षण गर्न नेपाल मगर संघ धरान नगर समितिले महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

आयोजकले यो नाचलाई धनकुटाको चौवीसेले लाई उत्गम क्षेत्रको रुपमा लिदै आएको छ ।

तिहारको औसीदेखि पूर्णेसम्म नाचिने यो नाचको जगर्नाका लागि प्रत्येक बर्ष मगर जातिहरुले धरानमा सामुहिक रुपमा मनाउदै आएको नेपाल मगर संघ धरान नगर समितिका अध्यक्ष चित्र थापा मगरले बताए । 

उनले भने, ‘यो नाच मगरको हो, यसको संरक्षण गर्नुपर्छ भनेर प्रत्येक बर्ष धरानमा आयोजना गरिदै आएका छौं ।’

उनले सबै जातजातिको संस्कृतिलाई साझा पर्वको रुपमा धरानमा मनाउने प्रचलन बढ्दै गएकोले मगरजातिले समेत पुराना पुस्ताबाट नयाँ पुस्तालाई हस्तान्तरण गर्दै जाने र यसको संरक्षण गर्ने उद्देश्यका साथ आयोजना गरिदै आएको बताए ।

धरानको सैनिक भवनमा भएको हुर्रा नाच कार्यक्रम धरान लगायत धनकुटा, मोरङका मगरजातिहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।

धरान १० सैनिक भवनमा आयोजना भएको हुर्रा नाचले मगरजातिको प्रतिनिधित्व गरेको प्रष्ट देखिएको थियो ।