धरान/ पछिल्लो समय पहाडी क्षेत्रका अधिकांश घरेलु उद्योग बन्द हुँदै गएको प्रति साना उद्यमीहरुले चिन्ता गरेका छन् ।

आयातित वस्तुसँग प्रतिष्पर्धा गर्न नसक्दा प्रविधि तथा बजारको पहुँचबाट टाँढा हुँदा समस्या आएको उनीहरुको गुनासो छ ।

ढाकाटोपी उद्यमी रविजाल लिम्बुले केही अगाडिसम्म ढाका टोपीको राम्रो कारोबार हुने गरेपनि अहिले हुन छाडेको बताएका छन् । लागत महँगो पर्ने भएकोले सस्तोमा विक्री गर्न नसकिएकाले पेशाबाटै विस्थापित हुने अवस्था आएको उनको दुःखेसो छ । 

नवौ उद्योग दिवसमा घरेलु तथा साना उद्योग कार्यालय धनकुटाले आयोजना गरेको कार्यक्रममा दुग्ध उद्यमी पनि पेशाबाटै विस्थापित हुने अवस्था आएको उद्यमी काशीराज निरौलाको गुनासो छ ।

दुग्धको मूल्य बढेपछि बढेको दुग्धजन्य उत्पादनका कारण उत्पादन गोदाममै थन्किएको उनको भनाई छ ।

यसैगरी कृषिजन्य उद्यमीको समेत अवस्था उस्तै रहेको गुनासो उद्यमीको छ । दिगो बजारको व्यवस्थापन नभएसम्म उद्यमी जहिल्यै समस्यामा पर्ने भन्दै दिगो बजारको व्यवस्थापन गरिदिन आग्रह समेत गरेका छन् । कार्यक्रममा साना उद्योगका प्रतिनिधि, घरेलु उद्योग तथा साना उद्योग कार्यालयका प्रनिनिधि लगायतको उपस्थिति रहेको थियो ।