धरान/  बढ्दो वेरोजगारका कारण धरानका धेरै युवा पुस्ता लागू औषधको दलदलमा फसेका छन् । युवाहरु नै लागू औषधको दलदलमा फस्दा टोल समाजमा नै विकृृति पैदा हुन्छ ।

यसलाई मध्यनजर गरी धरान ११ का १२ टोल विकास समितिले संयुक्त रुपमा वडालाई शान्ति सुरक्षा कायम गर्न र लागू औषध दुव्र्यसनमुक्त वडा बनाउन सक्रिय बनेका छन् ।

धरान उपमहानगरपालिका वडा नं. ११ मा १८ वटा टोल विकास समिति छन् । यसमध्ये १२ वटा टोल विकास समितिले आफ्नो टोललाई सुरक्षित र लागू औषध दुव्र्यनमुक्त बनाउने उद्देश्यले संयुक्त रुपमा पहल थालेका छन् । 

चार महिना अगाडिबाट शुरु गरिएको यो अभियान अन्तर्गत उनीहरुले आफ्नो टोलमा हुने कारोबारलाई निस्तेज बनाउदै दुव्र्यसनीमा फँसेका तथा कारोबारमा लागेकाहरुलाई प्रहरीलाई बुझाउने समेत गरेका छन् ।

चार महिनाको अवधिमा  संयुक्त टोलीले आधा दर्जन भन्दा बढी टोलमा आतंक मच्चाउने, मेडिकल सञ्चालन गरेर लागूऔषध विक्री वितरण गर्ने र लागूऔषध प्रयोगकर्ता र कारोबारमा संलग्नहरुलाई प्रहरीमा बुझाइसकेका छन् । 

संलग्न गिरोहलाई प्रहरी प्रशासनको रोवहरमा उनीहरुले बुझाउने गर्छन् ।

तर प्रहरीले कारबाहीको सट्टा २४ घण्टा वित्न नपाउँदै छोडिदिने गरेको आरोप उनीहरुको छ ।

पक्राउ गरेकाहरुलाई छोडिदिँदा आफूहरुसँग समन्वय नगर्ने गरेका कारण आफूहरुको पहल कदमीलाई प्रहरीले सहयोग नगरेको उनीहरुको आरोप छ । वडा तथा टोललाई लागू औषधमुक्त बनाउदै शान्ति कायम गर्ने उद्देश्यले संयुक्त अभियान थालिएको अभियानका संयोजक उमेश राई बताउछन् ।

व्यस्त बजारभन्दा केही पर रहेको यो वडाका युवा पुस्तामात्र हैन बाहिरबाट समेत आएर लागूऔषध कारोबार तथा प्रयोग गर्ने गरेपछि वडा तथा टोल नै अशान्ति भएपछि शान्ति सुरक्षा कायम गर्न उनीहरुले संयुक्त पहल गरेका हुन ।

यो अवधिमा उनीहरुले धेरै लागू औषध कारोबारी, प्रयोगकर्ता, मेडिकल पसलको नाममा लागूओषध प्रयोग गर्ने गिरोह तथा हतियार प्रयोग गरेर लुटपाटमा संलग्नहरुलाई हतियारसहित प्रक्राउ गरी प्रहरीमा बुझाएको छ । उनीहरुले लागू औषध कारोबार गर्ने सूचना पाउने वितिकै त्यहाँ छापा मार्न समेन पुग्ने गरेका छन् ।

ज्यानको बाजी राखेर उनीहरु हतियार र लागू औषधसहित प्रहरी प्रशासनलाई बुझाउने गरेका छन् । 

उनीहरुले वडामा रहेको प्रहरी विटलाई बुझाउने गरेका छन् । तर उनीहरुले बुझाएको सम्बन्धित ठाउँ अर्थात इलाका प्रहरी कार्यालय सम्म नपुग्ने गरेको गुनासो गरे ।

केही समय अगाडि उनीहरुले नौ थान हतियार, लागू औषधसहित रेल्वे प्रहरी चौकीलाई बुझाएको र कारोबारमा संलग्नलाई प्रहरीले पक्राउ गरेको भएपनि त्यो इलाका प्रहरी कार्यालय धरानसम्म नपुगी त्यहीबाट छुटेको पाइएको बताएका छन् ।

उनीहरुले टोलबासीले प्रहरीलाई सहयोग गर्ने र टोललाई नै शान्ति सुरक्षा कायम गर्ने अभियान चलाए पनि प्रहरीले भने आफूहरुलाई सहयोग नै नगरेको आरोप राइजिङ टोल विकास समितिका अध्यक्ष इन्द्रकुमार राई बताउँछन् ।

जस्तोसुकै अवस्थामा पनि यो अभियानलाई नछाड्ने उनीहरुको अडान छ ।

विगतको अवस्था भन्दा आफूहरुले शुरु गरेको अभियानपछि टोलमा लागू औषध कारोबार तथा प्रयोगकर्ताको संख्यामा कमी आएको उनीहरुको दाबी छ ।

यस्तै विगतमा चौक चौकमा हतियार आक्रमण हुने गरे पनि अभियान सञ्चालन पछि त्यस्तो नभएको दाबी उनीहरुको छ । लागू औषध कारोबार तथा प्रयोगकर्ताको नियन्त्रण र शान्ति सुरक्षा कायमका लागि टोल टोलबाट नियन्त्रणको प्रयास गरेको खण्डमा टोलमा हुने विकृति अन्त्य भएर जाने उदाहरण धरान ११ का १२ टोल विकास समितिले उदाहरण पेश परेका छन् ।