धरान/  सुनसरीको बराहक्षेत्रमा रहेको बराहक्षेत्र धाममा नेपालका मात्र हैन भारतबाट समेत दर्शनार्थीहरु आउने गरेका छन् ।

भारत र नेपालमा रहेका चार धाममध्येको एक बराहक्षेत्र धाममा दर्शनार्थीहरुको भीड थामिनसक्नु हुने गरेको छ ।

भारतका दुइ कुरुक्षेत्र, धर्मक्षेत्र र नेपालका दुई धाम बराहक्षेत्र र मुक्तिनाथ ऐतिहासिक धार्मिक स्थल हुन् ।

यी धामहरुमा नेपाल तथा भारतबाट सयौं भक्तजनहरु भगवानप्रतिको आस्था राखेर जाने गरेका छन् । यीमध्ये बराहक्षेत्र धाममा पनि नेपाल तथा भारतबाट सयौं भक्तजनहरु आउने गरेका छन् ।

विगतको भन्दा बाटो घाटो, खान बस्न लगायतका सुविधा रहेका कारण बराहक्षेत्र धाममा दर्शनार्थी बढेको मन्दिरका पूजारीहरु बताउने गर्छन् ।

धर्तीको पहिलो धाम भनेर चिनिएको बराहक्षेत्रमा कतिपय धर्मावलम्बीहरु पटक पटक आउने गरेको भेटिए भने कतिपय यहाँको महिमा सुनेर पहिलो पटक दर्शनका लागि आएको बताउने समेत भेटिएको थिए ।  

विगतदेखि नै बराहक्षेत्र संरक्षण मञ्च गठन गरेर बराहक्षेत्र धामको विकास हुँदै आएको  छ ।

केही वर्ष अघि सम्म मन्दिर आइपुग्न असहज बाटोघाटो, पार्किङको असुविधा, सर्वसुलभ ढंगको शौचालय अभाव लगायतका समस्या थियो । अहिले भने सहज भएको मन्दिर आएका धर्मावलम्बीहरुको भनाई छ । 

बारा कलैया उपमहानगरपालिकाका वडा नं. १४ का वडाध्यक्ष हिरालाल चौधरीले पहिलो पटक बराहक्षेत्र धाम आएको बताए ।

विद्यालयको शैक्षिक भ्रमणमा सामेल भएर आएका उनले बराहक्षेत्र धाम धार्मिक ग्रन्थमा उल्लेख गरे अनुसार पढेकोमात्र भएपनि यहाँ आएपछि साँच्चै नै स्वर्ग जस्तो लागेको बताए ।

यस ठाउँमा अन्य दिन पनि भक्तजनहरु आउने भएपनि मेलाको समयमा भने भक्तजनहरुको उल्लेख्य उपस्थिति रहने गरेको छ । खासगरी कार्तिक पूर्णिमा र मंसिर संक्रान्तिमा बराहक्षेत्रमा भव्य मेला लाग्ने गरेको छ ।

कार्तिक पूर्णिमामा लाग्ने मेलामा भारतबाट समेत भक्तजनहरु आउने गरेका छन् भने माघे संक्रान्तिमा नेपालमा विभिन्न स्थानबाट भक्तजन आउने गरेको स्थानीयको भनाई छ । 

रतुवामाई नगरपालिकाबाट आई पुग्नु भएका तुलसी सिलवालले पहिलो पटक बराहक्षेत्र धाम आएको बताए । उनले विगतमा बाटो अप्ठेरो छ भनेर आउन नसकिरहेको अवस्थामा अहिले बाटो घाटोको धेरै राम्रो सुविधा पाएको बताए ।

श्रीमद् भागवतमा पनि बराह अवतारको विषयमा उल्लेख भएको छ । सृष्टि हुँदा नै बराह भगवानको नाम आउने गरेको पुजारीहरु बताउँछन् ।

हिमवत खण्डको नेपाल महात्मयमा कोकाह र कौशिकीकौ सगम स्थल जसलाई कोकाह बराह भनिन्छ यहाँ आएर पितृहरुलाई सम्झिने, स्नान गरे मात्र पनि पुण्य कमाइने किवदन्ती अनुसार भक्तजहरु अत्याधिक आउने गरेको पूजारी उद्धव अधिकारी बताउँछन् ।

अहिले प्रत्येक दिन हजारौ दर्शनार्थी आउने गरेपनि शनिवार विदाको दिन त झन धेरै आउने गरेको सुनाए । 

यहाँ आउनेहरुले धर्तिको पहिलो भगवान नै बराह भगवान भएको मान्यता राख्ने गरेका छन् ।

यहाँ आएर पितृहरुलाई सम्झेर पितृहरुको सम्झनामा श्राद्ध गरे पितृहरुले मोक्ष प्राप्त गर्ने जनविश्वास रहेकोले बराहक्षेत्र आउने गरेको पाइएको छ ।

भारत र नेपालमा रहेको चार धाम र नेपालमात्र रहेको दुई धाममध्ये बराहक्षेत्र धाम महिमा चुलिदै गएको छ ।

पछिल्लो समय कोशीमा बोट सञ्चालन गरेपछि यो क्षेत्र जल पर्यटनमा समेत फड्को मार्दै गएको छ । दर्शनपछि उनीहरुले एकपटक बोटको समेत मजा लिने गरेका छन् । जति महिमा यस मन्दिरको छ त्यति विकास भने तीनै तहको सरकारले गरेको भने पाइदैन ।