झापा/  झापाको बिर्तामोड ५ बस्ने ५० वर्षीया माया पुलामी मगरको अवैध यौन सम्बन्धका कारण हत्या भएको खुलेको छ ।

एक साताअघि पुलामीको अर्जुनधारा ६ बिहानी टोलस्थित वीग ब्रोदर ब्याडमिन्टन कबर्ड हलको गेटछेउमा हत्या गरेको अवस्थामा शव फेला परेको थियो ।

हत्यामा संलग्न भएको आरोपमा प्रहरीले बिर्तामोड ८ गरामनी घर भइ बिर्तामोड ५ मा डेरा गरी बस्ने ४६ वर्षीय चन्द्रप्रसाद प्रसाईलाई पक्राउ गरेसँगै महिलाको हत्या अवैध यौन सम्बन्धका कारण भएको खुलेको हो ।

आइतबार इलाका प्रहरी कार्यालय अनारमनीमा पत्रकार सम्मेलनको आयोजना गरी पुलामीको हत्यामा संलग्न प्रसाईलाई सार्वजनिक गर्दै घटनाका विषयमा प्रहरीले जानकारी गराएको हो ।

पुलामीको हत्या गत माघ ८ गते भएको थियो । मृतक पुलामीसँग प्रसाईको चिनजान माघ ६ गते मात्रै भएको थियो ।

विवाह गर्ने प्रस्ताव गरेका प्रसाईले पुलामी मगरसँग शारीरिक सम्बन्ध राख्ने प्रस्तावसहित कोठामा जाने प्रस्ताव गरेका थिए ।

त्यसक्रममा पुलामी मगरले प्रसाईको प्रस्ताव अस्वीकार गर्दै दाहिने आँखामा हातले हिर्काएपछि प्रसाईले पुलामी मगरलाई मार्ने नियत राखेर ढुङ्गाले टाउकोमा प्रहार गरेको प्रहरी समक्ष बयान दिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सुरज कार्कीले बताए ।

मादक पदार्थ समेत सेवन गरेका प्रसाईले मगरलाई टाउकोमा पटकपटक ढुङ्गा प्रहार गरी हत्या गरेर कबर्ड हलको छेउमा छाडेर भागेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न प्रसाईलाई जिल्ला अदालत झापाबाट सात दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान अगाडि बढाएको कार्कीले जानकारी दिए ।