धनकुटा/ धनकुटाको पाख्रिवास नगरपालिका –४ का कृषक ताराबहादुर कार्कीले आफ्नो बारीमा १० किलोसम्मको मूला फलाए पनि बिक्री नहुँदा प्रतिफल नमिलेको गुनासो गरेका छन् ।

मूला राम्रो उत्पादन भए पनि विक्री नभएको उनको भनाइ छ । ब्यापारीले मुला प्रतिकिलो ५ रुपियाँभन्दा बढी नहाल्नेगरेको कार्कीले बताए ।

मुलाखेतीमा लगानी समेत नउठ्ने उनको भनाइ छ । उनले भने, ‘मेरो टनेलमा एउटै १० किलोसम्मको मुला फल्यो यसमा हाम्रो धेरै मिहिनेत र परिश्रम भयो । तर बिक्री हुँदैन यो कुरा कसले बुझिदिने हो ?’ मुला बिक्री नहुँदा त्यतिकै खेर गएको उनले बताए । 

धनकुटाकै छथर जोरपाटी क्षेत्रमा पनि मुलाको अत्यधिक खेती हुनेगरेको छ ।  मुलाको स्थिर मूल्य नहुँदा पछिल्लो समय कृषकले मुलाखेती गर्न छाडेका छन् ।

मुलाले लगानीसमेत नउठाएको कृषकको गुनासो छ । लगानी नउठेपछि यसको खेती गर्न छाडेर अन्य खेतीतर्फ लागेको छथर जोरपाटी गाउँपालिका –१ का कृषक इन्द्र सारु मगरले बताए । 

मुलाले लगानी धान्न प्रतिकिलो कम्तीमा पनि ११ देखि १२ रुपियाँ प्रतिकिलो पाउनुपर्ने कृषकको भनाइ छ ।

यो वर्ष मुला १० रुपियाँभन्दा बढीमा बिक्री नै नभएको उनको गुनासो छ । उनले भने, ‘मुलाले बर्सेनि भाउ नपाउने समस्या हुन थालेपछि हामीले यो क्षेत्रमा बर्सेनि  मुलाखेती घटाएर आलु बन्दागोभीजस्ता बालीको खेती बढी मात्रामा गर्न थालेको छौं ।’

पहिलेदेखि करिब एकनास अति कम मूल्यमा मुला बिक्री गर्नुपरेको धनकुटा सिँधुवाका कृषक अमर घिमिरेले बताउनुभयो ।

‘पहिले लगानी थोरै हुँदा पनि आठ दश रुपियाँमा बिक्थ्यो, अहिले लगानी पहिलेभन्दा दोब्बर हुन्छ । तर पनि मूल्य कहिले बढेन’ उहाँले भन्नुभयो । 

करिब १० रुपियाँको हाराहारीमा मूल्य पाउँदा मात्र कृषकलाई केही राहत हुने कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राना मगरले बताउनुभयो ।

त्योभन्दा पनि कम मूल्य भएमा कृषकले घाटा खाने उहाँको भनाइ छ । धनकुटामा बर्सेनि  पाँचसय ८५ हेक्टर क्षेत्रफलबाट १० हजार मेट्रिक टनको हाराहारीमा मुला उत्पादन हुनेगरेको छ ।